भीम रावललाई ओलीको जवाफ -‘जेठ २ जस्ताको तस्तै लागु हुदैन, यसमा प्रस्ट हुनुस्’

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १३ : ११
भीम रावललाई ओलीको जवाफ -‘जेठ २ जस्ताको तस्तै लागु हुदैन, यसमा प्रस्ट हुनुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।

आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् ।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भएपनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भनेका हुन् ।

भट्ट गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इन्चार्ज तोकिएका हुन् । त्यसबेला रावल माधव नेपाल समुहमा रहेका थिए । माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बसेका थिए । १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत आफै हुनुपर्ने पक्षमा छन् ।  

तर रावलको उक्त चाहाना अध्यक्ष ओलीका कारण पुरा हुन नसक्ने भएको छ । सुदुरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल,महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएका थिए ।  ‘कार्यविभाजन यथावत छ । जिम्मेवारी परिवर्तन भएको छैन’बालकोटमा ओलीले रावललाई भनेका थिए,‘तपाई उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’

ओलीले भनेका थिए, ‘जेठ २ जस्ताको तस्तै लागु हुदैन । यसमा प्रस्ट हुनुस् ।’ तर छलफलमा भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन आफुले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए । ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो’, रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गरेका थिए । तर ओलीले रावलको भनाइप्रति असहमति जनाउदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएका थिए ।

‘हिजोको नेकपा एमाले, नेकपा अनि अहिलेको नेकपा एमालेको अस्तित्व छ, त्यहाँ कमिटी छन् र जिम्मेवारी तोकिएका छन्, त्यसैले जिम्मेवारी पनि त्यसैअनुरुप नै हुन्छ’, ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘नेकपा एमालेले जुन कार्यविभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत रहन्छ ।’

नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्र्दभमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ ।

‘हामी तीन जनाले सहजीकरण मात्रै गर्ने हो’, नेता कर्ण थापाले भने, ‘तीनजना मध्ये उपाध्यक्ष भएको नाताले नेता रावलले सहजीकरणको मात्रै नेतृत्व गर्ने सहमति बनेको छ ।’

थापाले प्रदेश कमिटीको अध्यक्ष आफु र प्रदेश इन्चार्ज लेखराज भट्ट नै भएको दावी गरे ।

सर्वोच्च अदालतले २३ फागुनमा ब्यूँताएको एमालेमा विवाद बढेपछि समाधानका लागि असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलबीच १० बुँदे सहमति भएको थियो । उक्त सहमतिमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र कार्यदिशा र विधानको व्यवस्था बमोजिम ०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।