दलको विभाजनले प्रजातन्त्र कमजोर हुन्छ : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १८ : ४१
दलको विभाजनले प्रजातन्त्र कमजोर हुन्छ :  प्रदीप ज्ञवाली

काठमाडौं । एमाले नेता प्रदीप ज्ञवालीले दलको विभाजनले प्रजातन्त्र कमजोर हुने बताएका छन्। उनले सर्वोच्चको फैसलामार्फत निर्दलीयता जस्केलाबाट छिरेको बताएका छन्।

विश्वासको मत लिन प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले नेपाली कांग्रेसकै सांसद बैठकमा उपस्थित नहुँदा देउबा सम्मिलित सरकार तीनपटक ढल‍ेको स्मरण गराए। देउबा एकपटक गृहमन्त्री र दुईपटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसकै सांसदका कारण सरकार ढलेको उनको भनाइ थियो।

‘अन्तिपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउबालाई प्रधानमन्त्रीबाट हटाएका थिए। त्यसैले दलको विभाजनले गर्दा प्रजातन्त्र कमजोर हुन्छ। लोकतन्त्र कमजोर हुन्छ’, उनले भने।

सर्वोच्च अदालतले धारा ७६(५)को अपब्याख्या गरेको भन्दै झस्केलामार्फत निर्दलीयतालाई प्रवेश गराउने काम भएको टिप्पणी पनि गरे। उनले यसअघि देउवालाई श्री ५ ज्ञानेन्द्रले प्रधानमन्त्री पदमा नियुक्त दिएको र अहिले श्रीमान् ५ ले देउवालाई नियुक्ति दिएको उल्लेख गरेका छन्।

उनले प्रतिनिधिसभा पुनर्स्थापनालाई प्रहसन र विद्रुप राजनीतिको संज्ञा दिए। उनले शक्ति पृथक्कीकरणको पद्धति भत्किएको बताए।उनले सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) को अपव्याख्या गरेको बताए।

प्रतिक्रिया दिनुहोस