काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनको ललितपुरस्थित निजी निवासमा बालेन सरकारका कोर टिमको गोप्य छलफल भएको छ । सरकारका दुई प्रभावशाली मन्त्रीलाई साथमा राखेर बालेनका सल्लाहकार बेनले आफ्नै निजि निवासमा बिहिबार गोप्य छलफल गरेका हुन् ।
प्रधानमन्त्रीले गत साता सार्वजनिक बिदाका दिन आफ्नै पार्टीका सांसद केपी खनालको लगानी रहेको चियादानीमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ´देश बनाउने टोली´ भनी टिप्पणी गरेका थिए। उक्त तस्वीर सार्वजनिक भएपछि प्रधानमन्त्रीले सीमित मन्त्रीलाई मात्र प्राथमिकता दिएको भन्दै राजनीतिक वृत्तमा समर्थन र आलोचना दुवै भएको थियो।
त्यसयता प्रधानमन्त्रीले गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री लम्सालसँग असामान्य रूपमा बाक्लो संवाद गर्ने गरेको तथा अन्य मन्त्रीहरूले भने प्रायः मन्त्रिपरिषद् बैठकमै मात्र भेट्ने अवसर पाउने गरेको चर्चा पनि चलिरहेको छ।
यही पृष्ठभूमिमा बिहीबार संसद्को बैठक सकिएलगत्तै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साल ललितपुर महानगरपालिका–१०, ज्वागलस्थित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निजी निवास पुगेका थिए।
स्रोतका अनुसार बेनको निवासमा दुई मन्त्री र सल्लाहकार बेनबीच लामो समय छलफल भएको थियो। प्रधानमन्त्री बालेन शाह पनि बेला–बेलामा सोही निवासमा पुग्ने गरेको बताइन्छ। यद्यपि बिहीबारको उक्त भेटमा प्रधानमन्त्री स्वयं सहभागी थिए वा थिएनन् भन्ने विषय खुलेको छैन।
प्रधानमन्त्री शाह बेलाबेला सुरक्षा घेरा छोडेर सुटुक्क पनि हिँड्ने गरेको समाचार बाहिर आईरहेका बेला त्यहाँ प्रधानमन्त्री रहे नरहेको बारेमा खुलेको छैन । तर गृहमन्त्री, पूर्वाधारमन्त्री र प्रधानमन्त्रीका सल्लाहकार बेनका बीचमा भने लामो संवाद भएको स्रोतले पुष्टि गरेको छ ।
भेटवार्ताको एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। तर पछिल्ला दिनमा प्रधानमन्त्री, उनका प्रमुख सल्लाहकार र यी दुई मन्त्रीबीच निरन्तर समन्वय र छलफल भइरहेका कारण उक्त भेटलाई सत्ता सञ्चालन र रास्वपाको आगामी महाधिवेशनसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।
रास्वपामा सभापति रवि लामिछानेलाई अबको महाधिवेशनबाछ थप बलियो बनाउने गरी भईरहेको विधानको तयारी, पार्टीको महाधिवेशनमा आफु पक्षका नेताहरुको सहज ब्यवस्थापन लगायतका विषयमा पनि छलफल गर्ने गरी यी नेताहरु बेन निवासमा जमघटमा बसेको स्रोतको भनाई छ ।
रास्वपामा सभापतिमा रवि लामिछाने नै निविकिल्प सभापति हुने र सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाइने गरी विधानमा ब्यवस्था हुने भएपछि यी नेताहरुको जमघट भएको हो ।
रास्वपामा बालेन, सुधन लगायतको टोली निर्वाचनको तयारीका क्रममा मात्र जोडिएको हो । रास्वपाको पहिलो महाधिवेशन ७–९ असारमा चितवनमा हुँदै छ । त्यस महाधिवेशनमा आफुहरु पक्षका नेताहरुको कहाँ कसरी ब्यवस्थापन गर्ने भन्नेमा रणनीति बनाउन बालेनले कुमार बेनलाइृ गृहकार्य गर्न जिम्मा लगाएका छन् । उनले भित्री रुपमा त्यसको अहिले तयारी गरिरहेको र त्यही क्रममा गृहमन्त्री गुरुङ र पूर्वाधार मन्त्री लम्सालसँग उनले संवाद गरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, ०९ : २३
लेखकबाट थप