चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनस्थलमा भरतपुर महानगरपालिकाले नगरप्रहरी परिचालन गरेको विषय विवादमा परेको छ। कार्यपालिका बैठकमा जनप्रतिनिधिहरूले राजनीतिक दलको कार्यक्रममा नगरप्रहरी खटाइएको विषयमा प्रश्न उठाएपछि प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले माफी मागेको जनाइएको छ।
भरतपुर महानगरपालिकाले गेष्ट हाउस चौरमा आयोजना हुने रास्वपाको महाधिवेशनका लागि टेन्ट निर्माण तथा सरसफाइ कार्यमा नगरप्रहरी र वातावरण शाखाका कर्मचारी परिचालन गरेको थियो। नगरप्रहरी प्रमुख डीएसपी कृष्णहरी ढकालका अनुसार प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा टोली खटाइएको थियो।
स्रोतका अनुसार महाधिवेशनस्थलमा रास्वपाका पदाधिकारीहरूले फोहोर व्यवस्थापन तथा सरसफाइमा सहयोग गर्न आग्रह गरेपछि नगरप्रहरीले सरसफाइ कार्य गरेको थियो। तर राजनीतिक दलको कार्यक्रममा महानगरका जनशक्ति प्रयोग गरिएको भन्दै कार्यपालिका बैठकमा आपत्ति जनाइएको थियो।
विवाद चर्किएपछि खटाइएका नगरप्रहरीलाई फिर्ता बोलाइएको छ भने आगामी दिनमा यस्ता कार्यक्रममा नगरप्रहरी नपठाउने निर्णय गरिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, १८ : ३१
लेखकबाट थप