काठमाडौं। सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा भूवनबहादुर सुनारले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो जानकारी दिनुभएको हो । गृहमन्त्रीकाअनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन र पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै गृहमन्त्रीले विकको मृत्युको कारण आत्महत्या देखिएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्यासँग मेल खाने उल्लेख गरिएको छ। साथै, हिरासतमा रहँदा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको छानबिन प्रतिवेदनमा जनाइएको छ ।’
छानबिन समितिले दिएका अन्य आवश्यक सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा पठाइसकिएको मन्त्रालयले जनाएको छ । उक्त क्रममा गृहमन्त्रीले जातीय भेदभाव तथा सामाजिक र धार्मिक रूपमा संवेदनशील मुद्दाहरूको प्रभावकारी सम्बोधनका लागि नेपाल प्रहरीभित्र ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएको समेत बताउनु भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो सेलले पीडितमैत्री अनुसन्धान गरी नागरिकमा विश्वास जगाउने उहाँको भनाइ थियो । सांसदले उठाएका प्रश्नप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रीले यस प्रकरणलाई अझ गहिरो गरी अध्ययन गरिने र प्राप्त हुने थप जानकारीबारे पुनः सदनलाई अवगत गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असार २०८३, १६ : २७
लेखकबाट थप