एमाले स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, ११ : ५३
एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो। बैठकमा नेता माधव कुमार नेपाल खेमा भने सहभागी भएको छैन ।

बैठकमा पार्टीको आन्तरिक विवाद र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने जनाइएको छ। एमालेको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। च्यासलमै बस्ने सो बैठकका लागि आइतबारको स्थायी कमिटी बैठकले एजेण्डा तय गर्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बेलुका ४ बजे बस्दैछ। त्यसअघि एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।सर्वोच्चको आदेशबाट प्रधानमन्त्रीबाट च्युत भएका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा हुन लागेको बैठकमा पार्टी भित्रको विवादको विषय केन्द्रमा रहने जनाइएको छ।

सर्वोच्चको आदेशसँगै एकताका लागि सहमतिमा पुगेको भनिएको एमालेको ओली र नेता माधव कुमार नेपाल खेमाबिच फेरि विवाद उत्कर्षमा छ।दोस्रो तहका नेताहरु एकताका लागि प्रयासमा रहेका छन्। तर विवाद समाधान हुने संकेत अहिलेसम्म देखिएको छैन।

प्रतिक्रिया दिनुहोस