काठमाडौं । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ। नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ। एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ।
यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन्। तर उनीहरू दुईजनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली झनै चिढिएका छन्।
बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो। हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिधिसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ। त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन्। नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन्।
यसैबीच ओलीले नेपाललाई पार्टीभित्र कुनै स्थान नभएको बताएपछि एमाले एकता थप अन्योलमा परेको छ। ओलीको सो अभिव्यक्तिलगत्तै देउवा नेपालनिवास पुगेका थिए। त्यसक्रममा उनले नेपालसँग विश्वासको मत मागेका थिए। नेपालले आफू निकटका सांसदलाई राखेर देउवालाई आश्वस्त पारेका थिए।
देउवापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास पुगेर सरकार टिकाउने विषयमा छलफल गरेका छन्। तर यी भेटघाट ओलीलाई मन परेका छैनन्। माओवादी अध्यक्ष दाहाल नेपाल निवासमा गएको विषयलाई त ओलीले पार्टी एकता खलबल्याउने प्रयासका रूपमा समेत चित्रण गरेका छन् ।
देउवाले चाँडै नै विश्वासको मत लिने तयारी गरेपछि एमाले संसदीय दलको नेतासमेत रहेका ओलीले संसदीय दलको बैठक बोलाएका छन्। ओलीले शुक्रबार ३ बजे बानेश्वरको लोत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्। नेपाल पक्षका नेताले त्यसलाई सार्न प्रस्ताव गरेका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ साउन २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल