गम्भीर अपराधका घटना किन चुक्दै छन् प्रहरी ?

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १२ : ३५
गम्भीर अपराधका घटना किन चुक्दै छन् प्रहरी ?

काठमाडौं । पछिल्लो केही महिनायता देशका विभिन्न भागमा गम्भीर प्रकृतिका अपराधका घटना ह्वात्तै बढेको छ । अपराधिक घटना बढेपनि प्रहरीले अनुसन्धानबाट दोषी पत्ता लाग्ने दाबी गर्दै आएपनि केही घटनाहरु अहिले पनि रहस्यमय नै बनेको छ ।  एक दुई मात्रै नभएर कयौँ घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । प्रहरीकै लापरबाहीले केही गम्भीर प्रकृतिका घटना यसबीचमा भएका छन् । 

पूर्वी चितवनको राप्ती नगरपालिका ३ स्थित जंगलमा एक जना महिलाको शव भेटियो। सनाखत गर्दा स्थानीय २३ वर्षीया सुजिता भण्डारीको पुष्टि भयो। भण्डारीको घरबाट करिब ३ किलोमिटर टाढा वनको बीच एउटा झाङमा अड्किएको अवस्थामा उनको शव च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  

ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा भेटिएको शवलाई प्रहरीले आइतवार रातभर सुरक्षा दिएर राख्यो। गत असार ११ गते बिहान ६ बजे साथीको घर जान्छु भनेर हिँडेकी सुजिता त्यही दिनदेखि बेपत्ता थिइन्। उनले त्यही दिन १२ बजे दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन् । जुन खबर उनका परिवारले प्रहरीलाई सुनाएका थिए। सुजिताले अपहरणको सूचना दिएपछि परिवारले प्रहरीमा जाहेरी नै दिएका थिए। तर प्रहरीले समयमा सक्रियता नदेखाउँदा उनको ज्यान गयो। यद्यपि उनको ज्यान कसरी गयो भन्ने कुराको पुष्टि पोस्टमार्टम रिपोर्टमा हुन सक्छ। त्यस्तै महोत्तरीमा भएको घटना पनि रहस्यमय नै बन्दै गएको छ । 

महोत्तरीमा जघन्य अपराधको घटना भएको छ।  गत २० जेठदेखि बेपत्ता सुजिता ठाकुरको शव २३ दिनपछि खेतमा गाडेको अवस्थामा बरामद भयो। अर्थात् २० जेठदेखि हराएकी सुजिताको शव १३ असारमा नजिकैको खेतमा शव प्रहरीले फेला पार्‍यो। महोत्तरीको लोहरपट्टी नगरपालिका(७ भ्रमरपुराकी सुजिता बेपत्ता भएपछि आफन्तहरु प्रहरीमा उजुरी दिन पुगेका थिए। तर त्यहाँ पनि प्रहरीले घटनाको छानबिनमा चासो देखाएन। प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि नबढाउँदा उनको पनि हत्यापछि सडेको अवस्थामा शव भेटियो। यो घटनामा पनि प्रहरीको उदासीनता देखियो।

यस घटनापछि महोत्तरीमा प्रहरीको चौतर्फी आलोचना भयो।  चितवन र महोत्तरी प्रहरीको लापरबाहीले भएका यी घटना त केही उदाहरण मात्रै हुन्। पछिल्लो एक वर्षमा ७ हजार १ सय ४४ वटा ज्यानसम्बन्धी घटना भएको तथ्यांक नेपाल प्रहरीले नै राखेको छ। यी घटनामा हत्या मात्रै ६२५ जनाको भएको छ। यस्तै अपराध अनुसन्धान का लागि दक्ष प्रहरी जनशत्तिः नभएको पनि होईन, तर अपराध अनुसन्धानका कतिपय घटनामा प्रहरी नै चुकेको देखिन्छ । यता प्रहरी संगठनले अपराध अनुसन्धानमा सीमित जनशक्तिका कारण सम्भावित घटना रोक्न र अपराधीसम्म पुग्न कठिन हुने गरेको बताउदै पनि आएको छ । 

अहिले नेपाल प्रहरीमा अपराध अनुसन्धानको लागि ७ प्रतिशत मात्रै प्रहरी खटाइएको छ। यो भनेको ४ हजार ९ सय मात्रै हो, जुन नेपाली समाजमा बढ्दो अपराधको घटनाबीच एकदमै कम हो। प्रहरीमा अपराध अनुसन्धानका लागि दक्ष जनशक्ति अभाव देशभर अपराधका घटनामा बढोत्तरी भएको बताइन्छ।पछिल्लो समय खबर आउँदा पनि तत्कालै प्रहरी सक्रिय नबनिदिँदा हत्यासहितका अपराधका घटना पनि बढ्दै गएका छन्। प्रहरी अधिकारीहरुको एकपछि अर्को कमजोरीले घटना बढेको सरोकारवालाहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस