पाँच दलको गठबन्धन संघर्षका कार्यक्रम ल्याउँदै

पत्रपत्रिकाबाट

शुक्रबार, ११ असार २०७८, ०७ : ३५
पाँच दलको गठबन्धन संघर्षका कार्यक्रम ल्याउँदै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको ‘प्रतिगमन’ विरुद्ध संयुक्त मोर्चा बनाएका पाँच दलले संघर्षका कार्यक्रम घोषणा गर्नैलागेको जानकारी गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका तर्फबाट राजधानीका सम्पादकहरूसँग बिहीबार गरिएको अन्तरक्रियामा यो जानकारी गराइएको हो ।

सात सालको राजनीतिक परिवर्तनदेखि बैसठ्ठी–त्रिसठ्ठीको आन्दोलनसम्म तपाईं हेर्नुहोस्, राणा शासन ढाल्दा होस् वा पञ्चायती व्यवस्था फाल्दा होस्, राजतन्त्रलाई बिदाइ गर्दा पनि प्रजातन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर लडे, आज कुर्सीका लागि राष्ट्रिय स्वाभिमान पनि दाउमा लगाउने ओलीको सरकारसँग हामी लडिरहेका छौं, हाम्रो जित निश्चित छ’, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने– ‘राष्ट्र र संविधानका लागि जसरी पनि हामीले यो जित हासिल गर्नैपर्छ ।

करिब ५० को संख्यामा रहेका सम्पादकहरूले ‘आम जनताले विश्वास गर्नेगरी पाँच दलका नेताहरूबाट प्रधानमन्त्री ओलीको समूहभन्दा भिन्न व्यवहार देखाउने संकेत दिन नसकेका कारण प्रेस जगत्ले तपाईंहरूलाई अझ बढी सहयोग गर्न नसकेको हो, आम जनताका लागि ओली र देउवा वा प्रचण्ड उस्तै–उस्तै छन्, अदालतदेखि संवैधानिक निकाय र प्रशासनसम्म आफ्ना कार्यकर्ता भर्ने’ भनेर टिप्पणी गरेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागत मन्तव्यबाट शुरू भएको र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेको सो अन्तरक्रियामा नेताहरूले पाँच दलको गठबन्धन बलियो सैद्धान्तिक धरातलमा उभिएकाले दीर्घकालिक हुने दाबी गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।