किन बन्दैछ ‘कोरोना’ उत्पत्ती रहस्यमय ?

विहीबार, १३ जेठ २०७८, ०८ : २८
किन बन्दैछ ‘कोरोना’ उत्पत्ती रहस्यमय ?

काठमाडौं । सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।

यो दाबीसँगै प्रयोगशालाबाट भाइरस बाहिर निस्केको सम्भावना देखिएकाले तथ्य पत्ता लगाउन स्वतन्त्र अध्ययन हुनुपर्ने आवाजलाई थप बल मिलेकोे छ। कोरोना भाइरस प्राकृतिक हिसाबले नभई प्रयोगशालाबाट उत्पत्ति भएको यसअघि केही विज्ञले बताउँदै आएका थिए। यो प्रतिवेदन सार्वजनिक भएपछि यो विषयको चर्चा उत्सर्गमा छ। यही आइतबार अमेरिकी दैनिक वालस्ट्रिट जर्नलले यसअघि सार्वजनिक नभएको अमेरिकी खुफिया एजेन्सीको एक प्रतिवेदनले वुहानस्थित एक प्रयोगशालाका तीनजना अनुसन्धानकर्ता नोभेम्बरमा नै बिरामी परेको र अस्पतालमा उपचार गरेको देखिएको समाचार सार्वजनिक गरेपछि यो विषयले फेरि विश्वव्यापी चर्चा पाएको हो। 

जर्नलले उक्त प्रतिवेदन यसअघिको डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सार्वजनिक स्टेट डेपार्टमेन्ट फ्याक्ट सिटमा समावेश गरिएको तथ्यभन्दा फरक र विस्तृत भएको जनाएको छ। अमेरिकाका गुप्तचर एजेन्सीसँग आबद्ध भूतपूर्व तथा वर्तमान अधिकारीले वुहानका अनुसन्धानकर्ता बिरामी भएको तथ्य सार्वजनिक भएपछि यो विषयमा थप अनुसन्धान गर्न आवश्यक रहेको बताएको वालस्ट्रिट जर्नलले जनाएको छ।  

एक अधिकारीले यो प्रतिवेदन एक अन्तर्राष्ट्रिय संस्थाले उपलब्ध गराएको र थप पुष्टिका लागि स्वतन्त्र अध्ययन आवश्यक रहेका बताएका छन्। ‘यो प्रतिवेदन अत्यन्त प्रभावशाली देखिएको छ। अनुसन्धानकर्ता किन बिरामी भए भन्ने विषयमा स्पष्टता आवश्यक छ,’ गुप्तचर एजेन्सीका अर्का अधिकारीलाई उद्धृत गर्दै वालस्ट्रिट जर्नलले भनेको छ। चीनको वुहान सहरमा सन् २०१९ को नोभेम्बरमा कोभिड–१९ सुरु भएको भाइरस विज्ञ तथा इमिडेमिओलोजिस्टको मान्यता रहेको छ भने चीनले यो भाइरसका कारण बिरामी भएका एक पुरुषको पहिचान डिसेम्बर ८ मा मात्र भएको दाबी गर्दै आएको छ।  

विश्व स्वास्थ्य संगठनको अगुवाइमा गत फेब्रुअरीमा वैज्ञानिकको एक टोलीले वुहानको स्थलगत अध्ययन गरेर भाइरसको उत्पत्तिसम्बन्धी जानकारी संकलन गरेको थियो। चिनियाँ र बाह्य विशेषज्ञ समावेश भएको उक्त टोलीले आफ्नो रिपोर्टमा भाइरस चमेरो अथवा अन्य जनावरबाट मानिसमा सरेको हुन सक्ने र भाइरसको उत्पत्ति सम्बन्धमा थप अध्ययन आवश्यक रहेको प्रतिवेदन दिएको थियो। उक्त रिपोर्टलाई वैज्ञानिकको एक समूहले आलोचना गरेको थियो। प्रतिवेदनमा प्रयोगशालाबाट भाइरस बाहिरिएको हुन सक्ने विषयलाई गम्भीरतापूर्वक नलिएको दाबी उनीहरूको थियो।  नागरिक दैनिकमा खबर छ ।