सुकुम्वासी अस्थायी बसोबासका लागि तयार अपार्टमेन्टको अनुगमन

सफल खबर संवाददाता

आइतबार, १३ बैशाख २०८३, १५ : ४२
सुकुम्वासी अस्थायी बसोबासका लागि तयार अपार्टमेन्टको अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नागार्जुन नगरपालिका-१ मा सुकुम्वासी अस्थायी आवासका लागि तयार पारिएको सरकारी अपार्टमेन्टको स्थलगत निरीक्षण गरेकी छन्।

थापाथली, सिनामंगल र मनोहरा क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउने क्रमसँगै विस्थापित परिवारलाई सोही प्रयोजनका लागि तयार गरिएको भवनमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको छ। हाल उक्त भवनमा सरसफाइ तथा मर्मतसम्बन्धी कार्य जारी रहेको छ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा करिब १२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सो संरचना नागार्जुन नगरपालिका क्षेत्रमा दुई स्थानमा निर्माण गरिएको हो। तीमध्ये एक भवनमा १०० र अर्कोमा १२४ वटा फ्ल्याट रहेका छन्।

सुकुमबासीको पहिचान गरी उनीहरूलाई सो भवनमा स्थानान्तरण गर्ने भनिए पनि अहिलेसम्म आवश्यक पहिचान प्रक्रिया पूर्ण रूपमा अघि बढ्न नसकेको जनाइएको छ।

हाल सो भवनहरू पूर्ण रूपमा प्रयोगमा आउन नसके पनि विभिन्न कार्यालय तथा संस्थाहरूले आंशिक रूपमा उपयोग गर्दै आएका छन्। एक ब्लकमा नागार्जुन नगरपालिका-१ को वडा कार्यालय तथा अस्थायी प्रहरी पोष्ट सञ्चालनमा छ भने खानेपानी उपभोक्ता समिति कार्यालय र मानव सेवा आश्रमले समेत केही भाग प्रयोग गर्दै आएका छन्।

सरकारी आवासीय संरचना लामो समयदेखि उपयोग र व्यवस्थापनको स्पष्ट योजना अभावका कारण जीर्ण बन्दै गएको अवस्थामा अहिले पुनः व्यवस्थित प्रयोगका लागि सरसफाइ र मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस