प्रधानमन्त्रीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन, सिसिएममी खारेज

पत्रपत्रिकाबाट

शनिबार, ०८ जेठ २०७८, ०८ : ०१
प्रधानमन्त्रीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन, सिसिएममी खारेज

काठमाडौँ । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन गरेको छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समिति हटाइएको छ ।

उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहनेछन् । प्रधानमन्त्री मातहतको निर्देशक समितिअन्तर्गत काम गर्ने गरी ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ रहनेछ । यो केन्द्रको प्रमुखमा बाह्रौं तहका स्वास्थ्य सेवाका अधिकृत रहनेछन् ।

कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशले २०७७ वैशाख १६ गते मन्त्रिपरिषद्को निर्णयबाट गठित सीसीएमसीको संरचना परिवर्तन गरेको हो । सरकारले बिहीबार जारी गरेको अध्यादेशको सूचना शुक्रबार राजपत्रमा प्रकाशन गरिएको छ । कानुनमन्त्री लीलानाथ श्रेष्ठले अब कोरोना भाइरस रोकथाम र नियन्त्रणका सम्पूर्ण कामको अगुवाइ प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्ने बताए ।

सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । उक्त समिति स्वास्थ्य सामग्री खरिदलगायत विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीसहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो । उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै लगातार आलोचना भएपछि प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र गठन गरिएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस