कोरोना जीवाणुसँग मुलुक यसरी लड्दैछ

रासस

बुधबार, ०५ जेठ २०७८, १२ : ३९
कोरोना जीवाणुसँग मुलुक यसरी लड्दैछ

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ । यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको सहयोगका कारण अहिले सङ्क्रमितहरुका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो जानकारीसँगै आगामी दिनमा कोभिड उपचार केही सहज हुने अपेक्षा गरिएको छ ।

कोभिड १९ का कारण मङ्गलवारसम्म कोभिड सङ्क्रमणमा परेका तीन लाख ५२ हजार ४ सय १४ मानिस निको भएका छन् । निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्क बताउँछ । अहिलेसम्म पाँच हजार ४११ जनाको यही सङ्क्रमणजन्य जटिलताबाट ज्यान गएको छ । नागरिकलाई आफ्ना परिवारका सदस्य अनि आफन्त गुमाउनु पर्दाको पीडाले दिन प्रतिदिन पिरोल्दै गएको छ । 

नेपालमा रहेका अस्पलात, स्वास्थ्य क्षेत्रका जनशक्ति र स्रोत साधनले नै धान्न नसक्ने गरी कोभिड १९ को सङ्क्रमण फैलिएपछि उपचारमा समेत निकै कठिनाई भएको देखिएको छ । आफ्ना नागरिकलाई कोभिडबाट बचाउन देशको स्रोत र साधानले नभ्याउने अवस्था भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगका लागि विश्व समुदायसँग आग्रह समेत गरेका छन् । 

कोभिड १९ को दोस्रो लहरमा धेरै विरामीलाई अक्सिजनको आवश्यकता प¥यो । तर पर्याप्त मात्रामा अक्सिजनको पूर्ति हुन नसकेपछि धेरैले ज्यान गुमाउनु प¥यो । चीन सरकारले अनुदानस्वरुप नेपाललाई प्रदान गरेको २० हजार अक्सिजन सिलिण्डर नेपाल बायुसेवा निगममार्फत् केही ल्याइएको छ भने केही तातोपानी नाकाहुँदै नेपाल आइपुगेका छन् ।

त्यस्तै खाडी मुलुकमा कार्यरत नेपालीहरुले सरकारलाई शनिबार ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । नेपालमा अक्सिजन सिलिन्डरको अभाव भएको थाहा पाएपछि खाडी मुलुक संयुक्त अरब इमिरेट्स, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपालीले रकम सङ्कलन गरेर नेपाललाई अक्सिजन सिलिन्डर पठाएका हुन् । देश तथा विदेशमा बस्ने नागरिकले पनि यो विपद्का बेला सक्दो प्रयास गरिरहेका छन् । यसबीचमा सर्वोच्च अदालतले पनि नागरिकको उपचामा कुनै कसर बाँकी नराख्न आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस