उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई गरिने

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १६ : ४१
उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई गरिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुनलागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयम्ले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।

निर्वाचन आयोगले मतदान स्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड २०७८ लागु गरेको छ । सोमबार पत्रकारसंग कुरा गर्दै आयोगका सह प्रवक्ता कोमल प्रसाद धमलाले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधी भित्रको कोभिड १९ संक्रमण भए÷नभएको पिसिआर रिपोर्ट ल्याउनुपर्नै अनिवार्य गरिएको बताए ।

यस्तै मतदान केन्द्रमा ३ वटा बुथ राखिने भएको छ । यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो । कोभिड १९ संक्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ ३ वटा बुथ राख्ने व्यवस्था मिलाईएको हो । मतभारको हिसाबले प्रदेशसभा सदस्यको बुथ र स्थानीय सरकार प्रमुख उपप्रमुख को बुथको साथै कोभिड १९ संक्रमित भएका मतदातालाई छुट्टै बुथको व्यवस्था गरिने सहप्रवक्ता धमलाले जानकारी दिए ।

उनले भने “कोरोनाकै बीचमा गर्नुपर्ने भन्ने कुरामा यो कानूनी बाध्यात्मक व्यवस्था हो । राष्ट्रियसभा सदस्यको सन्र्दभमा रिक्त रहेको ३५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने छ भन्ने कानूनमा उल्लेख छ । त्यसैले यही जेठ ६ गते बागमती प्रदेशको अन्य समुहबाट र जेठ १७ गते अन्य समुहबाट प्रतिनिधित्व गर्नका लागि १÷१ जनाको निर्वाचन हुदैछ । आयोगले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अलि कडाईका साथ थप व्यवस्थित बनाएर निर्वाचन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पिपिई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाईने सहप्रवक्ता धमलाले जानकारी दिए । मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदान कक्षमा रहेका सम्पुर्ण सामाग्रीहरु निसंक्रमण गराउने छन् । आगामी जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुनेछ । बागमती प्रदेशमा अन्य समूहबाट १ पदको लागि र लुम्बिनी प्रदेशमा पनि अन्य समूहबाट १ पदको लागि उपनिर्वाचन गर्न लागिएको हो ।

बागमति प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते  उपनिर्वाचन हुदैछ । बागमति प्रदेशमा ३ सय ४८ जना कुल मतदातामा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३८ स्थानीय प्रतिनिधिहरु छन् । त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ९६ कुल मतदाता छन् । ७९ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय प्रतिनिधिहरु छन् ।