रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०८२, १५ : ५७
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन

काठमाडौँ । रुपन्देही-३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ ।

पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नाउपा का दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् । नाउपाबाट संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दल दर्ताका लागि निवेदन दिएका थिए । डगौराले निवेदनको दर्ता नं ६ हो । अध्यक्ष रञ्जिता श्रेष्ठले भने अन्तिम दिन २७ गते दल दर्ताका लागि निवेदन दिएकी थिइन् । उनको दर्ता नं २५ कायम भएको छ ।

यही साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो । लगत्तै निर्वाचन आयोगमा पदाधिकारी अद्यावधिक गर्न निवेदन दिएकोमा आयोगले श्रेष्ठलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरिसकेको छ ।

उपनिर्वाचनका लागि निवेदन दिने अन्य दलहरूमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत रहेका छन् ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार निवेदन उपर छानबिन गरी भदौ १ गते स्वीकृत दलको नामावली प्रकाशन गरिनेछ ।रुपन्देही–३ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आगामी कात्तिक १७ गते सोमबार मतदान हुँदैछ । असोज २१ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस