पार्टी एक ढिक्का बनाउने आशमा प्रधानमन्त्री ओलीसँग मध्यरात सम्म भिडेका घनश्याम भुसाल र योगेश भट्टराई किन भए निराश ?

‘अब चुनावमै जाने हो, चिज धेरै अगाडि बढिसक्यो’

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १० : २१
पार्टी एक ढिक्का बनाउने आशमा प्रधानमन्त्री ओलीसँग मध्यरात सम्म भिडेका घनश्याम भुसाल र योगेश भट्टराई किन भए निराश ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसदबाट विश्वासको मत लिने भएसंगै त्यसलाई सफल बनाउन दौडधुपमा निकै व्यस्त बनेका छन् । कहिले प्रतिपक्ष नेपाली काँगेसका सभापति शेरबहादुर देउवालाई फकाउन उनकै निवास पुगेका छन् भने कहिले पार्टीमा कारवाही गरिएका नेताहरुसंगको छलफललाई तिब्रता दिईरहेका छन् ।

त्यसमा पनि प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताबाट विश्वासको मतमा अन्तरघात हुने देखेपछि राष्ट्रपतिलाई पनि अगाडी सारेका छन् । उनले राष्ट्रपति निवासमै नेताहरुलाई बोलाएर छलफल तथा कारवाही फुकुवाको आश्वासन समेत बाँड्न थालेका छन् । यस्तै दोबाटोबाट फुटको संघारमा पुगेकोे पार्टी मिलाउने प्रयासस्वरुप शुक्रबार छलफलका लागि बालुवाटार छिरेका माधव नेपाल समूहका दुई प्रभावशाली नेता मध्यराति रित्तो हात फर्किएका छन् । हिजो बेलुकी साढे ८ बजे प्रधानमन्त्री निवास गएका दुई पूर्वमन्त्री घनश्याम भुसाल र योगेश भट्टराई ओलीबाट निराश बनेर फर्किएका छन् । 

उनीहरु गएपश्चात केहीबेर कुराएर भेट गरेका ओलीले एक घण्टासम्म माधव नेपालविरुद्ध गुनासो सुनाएको र अन्त्यमा जेठ २ मा फर्किन नसक्ने प्रष्ट बताएपछि उनीहरु मध्यरातमा बालुवाटारबाट फर्किएका थिए । झन्डै साढे दुई घण्टाको छलफलमा ओली टसको मस नभएपछि हैरान भएर साढे एघार बजे बाहिरिएको नेता भट्टराईले बताए ।  अध्यक्ष ओलीले आफ्नो कुरो मात्रै मान्न अडान राखेपछि पार्टी मिलाउने तत्परता उनमा नदेखिएको भन्दै दुवै नेता छलफल टुंग्याएर बालुवाटारबाट बाहिरिएका थिए । छलफलमा अधिकांश समय ओलीले गुनासो सुनाएको र माधव नेपालको आलोचना गरेको उनीहरुको भनाई छ । 

एमाले उपमहासचिव भुसालका अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट संचालन गर्न र थप एकताबद्ध बनाएर लैजान राखिएको प्रस्ताव ओलीले अस्वीकार गरेपछि छलफल निरर्थक बनेको हो । पार्टीलाई एकताबद्ध बनाएर सरकारको स्थायित्व सुनिश्चित गराउन नेपाल समूहका तर्फबाट गरिएको प्रस्ताव ओलीले नमानेको नेता भट्टराईले बताए ।  ‘मिलाउन नसके विभाजनतर्फ जान्छ, कसको कारणले विभाजन भयो,नेतृत्वमा को थियो भन्दा तपाइँकै नाम आउँछ, इतिहासमा त्यस्तै लेखिन्छ’ भन्ने सम्मको भनाई राख्दा पनि ओलीले नमानेको उनीहरुको भनाई छ। 

विगतमा भएका कमिकमजोरीलाई समीक्षा गर्दै आवश्यकताअनुसार आत्मालोचित हुने विश्वास दिलाउँदा पनि ओली सहमतिका लागि तयार नभएको नेताहरुले गुनासो गरेका छन् । छलफलका क्रममा ओलीले माधव नेपालले आफूलाई पटकपटक पार्टीबाट हटाएको, प्रचण्डसँग मिलेर प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको जस्ता गुनासो गरेपछि भुसाल र भट्टराईले समीक्षा गर्न सकिने बताएका थिए । दुवैतिरबाट भएका गल्ती कमजोरीको समीक्षा गर्दै नयाँ ढंगले पार्टी निर्माणमा योगदान गर्न गरेको आग्रह पनि ओलीले नमानेको नेता भटराईले बताए ।

एकोहोरो अडान दोहोर्याएपछि अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले पार्टी मिलाउने जिम्मा लिन आफूहरुले पुनः आग्रह गरेको उनीहरुको भनाई छ । ‘‘तपाइँ पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्री हो, तपाईंले नै समाधान दिनेगरी सोच्नुपर्यो, त्यो जिम्मेवारीबाट सोच्नुस् र जसरी पनि मिलाउनुस्’, बालुवाटारमा भनेको कुरा सुनाउँदै नेता भट्टराईले भनेका छन्– ‘मिलाउन नसके विभाजनतर्फ जान्छ । कसको कारणले विभाजन भयो, नेतृत्वमा को थियो भन्दा तपाइँकै नाम आउँछ, इतिहासमा त्यस्तै लेखिन्छ । त्यसैले जेठ २ गतेलाई आधार बनाएर अरु केके गर्ने बसेर सल्लाह गरौं ।’

ओलीले भने आफ्नै सरकारका विरुद्ध विपक्षीसँग गठबन्धन गरेको, पत्रकार महासंघमा घेरावन्दी गरेको जस्ता गुनासो दोहोर्याएका थिए । विगतका कमजोरी समीक्षा गरौँ न त भन्ने आफूहरुको प्रस्तावमा पनि ओली सहमत नभएको भट्टराईको गुनासो छ । बरु अब चुनावमै जाने हो, चिज धेरै अगाडि बढिसक्यो भन्दै ओलीले जेठ २ गते फर्किने कुरा मान्न नसकिने कुरा प्रष्ट राखेको उनले सुनाए । । ‘अरु कुरा मान्न सकिन्न, निःशर्त आउनुस् । कमिटीमा बसेर छलफल गरौँ भन्ने उहाँको कुरा थियो’,भट्टराईले भने ।

पौने नौ बजेदेखि शुरु भएको कुराकानी सवा ११ बजे टुंगिएको थियो । पार्टी विभाजन रोक्न सबै पक्षसँग लगातार छलफलमा जुटेका नेता भट्टराईले अस्ति राष्ट्रपति विद्या भण्डारीसँग पनि छलफल गरेका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा झन्डै डेढ घण्टा कुराकानी गरेको उनले बताए । उक्त कुराकानीमा पनि आफूले बालुवाटारमा भनेकै कुरा राखेको उनले बताए ।

‘उहाँ (राष्ट्रपति) लाई पनि मैले त्यहि भनेँ । ष्ट्रपति,प्रधानमन्त्री सबै कम्युनिष्ट भएका बेला कम्युनिष्टकै सत्यानाश हुनु दुर्भाग्यपूर्ण हुन्छ । सबै मिलेर पार्टी जोगाउने गरी सोचौँ’, शीतलनिवासमा भएको कुराकानी सुनाउँदै उनले भने–‘ अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाललाई बोलाएर कुराकानी थाल्न आग्रह गुर्नस ।

प्रतिक्रिया दिनुहोस