काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०७ : १०
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू

काठमाडौं । काठमाडौं उपत्यकाका अहले बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।

सूचनाअनुसार तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो।  

अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । 

ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा कुनै रोक हुने छैन ।

सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइने छ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ ।​

संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ ।

तीन जिल्लाको जारी आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस