काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रमा गर्न सकिने कामहरू अनगिन्ती रहेको बताएका छन्।
मन्त्रालय सम्हालेको एक महिनाको अवसरमा सोमबार उनले यस अवधिमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएको उल्लेख गरेका हुन् ।
आफ्नो एक महिने कार्यकालको समीक्षा गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा वर्षौँदेखि रहेको ढिलासुस्ती अन्त्य गर्न सुशासन र प्रणालीगत सुधारको थालनी गरेको दाबी गरे। 'मन्त्रालय प्रवेश गर्दा मैले बुझेको कुरा के हो भने यहाँ गर्नुपर्ने कामहरू अनगिन्ती छन्,' उनले भने, 'तर त्योभन्दा ठूलो नागरिकको भरोसा छ, जसले हामीलाई काम गर्न ऊर्जा दिएको छ।'
मन्त्री पोखरेलले आफ्नो कार्यकालको ठूलो उपलब्धिका रूपमा एसईईको नतिजा प्रकाशनमा हुने ढिलाइलाई कम गर्ने प्रयासलाई अघि सारेका छन्। यसअघि नतिजा आउन तीन महिना लाग्ने गरेकोमा अब प्रणालीमा सुधार गरी एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने दिशामा मन्त्रालय अघि बढेको उनले जानकारी दिए। नेपालको इतिहासमा पहिलोपटक परीक्षा र उत्तरपुस्तिका परीक्षण एकैसाथ सुरु गरिएको उनले बताए। त्यस्तै, कक्षा १२ को नतिजा पनि ४५ दिनभित्रै ल्याउने गरी गृहकार्य भइरहेको उनको भनाइ छ।
समावेशी शिक्षाको क्षेत्रमा नयाँ योजना सार्वजनिक गर्दै मन्त्री पोखरेलले देशका सातै प्रदेशमा 'अटिजम विद्यालय' स्थापना गर्ने घोषणा गरेका छन्। विशेष आवश्यकता भएका बालबालिकाका लागि यस्ता विद्यालयले ठूलो राहत दिने उनको विश्वास छ। विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र विद्यार्थीको अवस्थामा सुधार ल्याउन मन्त्रालयले विज्ञहरूसँग निरन्तर परामर्श गरिरहेको उनले उल्लेख गरे।
यस्तै, खेलकुद समेत रहेका उनले खेलकुदलाई विद्यालयको पाठ्यक्रमसँगै जोडेर 'ग्रासरुट' बाटै खेलाडी उत्पादन गर्ने योजना अघि सारेका छन्। सानै उमेरदेखि खेलाडीको पहिचान र विकास गर्ने तथा उनीहरूलाई उचित सम्मान दिने गरी नीतिगत सुधार भइरहेको उनले बताए।
कामका क्रममा आउने आलोचना र सुझावलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै मन्त्री पोखरेलले आफू सस्तो लोकप्रियताभन्दा पनि समस्याको दीर्घकालीन र नीतिगत समाधानमा केन्द्रित रहेको प्रस्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्री पुनले दिए राजीनामा
१५ बुँदे माग राख्दै विद्यार्थी युनियन अखिलले बुझायो शिक्षामन्त्रीलाई ज्ञापन पत्र
नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’
'सर्को तानेको बेला केही नलेखौँ' : शिक्षामन्त्री
भाषण गर्न र रिबन काट्न नबोलाउनुहोस् : शिक्षामन्त्री पुन
शिक्षामन्त्री पुनले पत्रकारहरूलाई बोलाए केशर महल