काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले जानकारी दिएका छन् ।
उपसमितिलाई राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या र सुधारका सम्भावित उपायबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।
सो प्रतिवेदनका आधारमा सम्बन्धित सरोकारवाला निकायसँग थप प्रभावकारी छलफल अघि बढाइने सभापति गजुरेलले बताए ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणाधीन आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार वित्तीय व्यवस्थापनको चुनौती, निर्माण व्यवसायीको क्षमता तथा विद्यमान कानुनी जटिलताका कारण समयमै परियोजना सम्पन्न गर्न कठिनाइ भइरहेको छ ।
समितिका सदस्यहरूले विषयगत मन्त्रालयका मन्त्रीहरूलाई पनि समितिमा बोलाएर छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।
यसैबीच समितिले सांसद राजेन्द्र राईको संयोजकत्वमा कार्यविधि मस्यौदा उपसमिति समेत गठन गरेको छ । उक्त उपसमितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने समय सीमा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ बैशाख २०८३, १८ : १९
लेखकबाट थप