पेरिसडाँडावाट यसरी छुट्टिए प्रचण्ड–माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ०८ : ३१
पेरिसडाँडावाट यसरी छुट्टिए प्रचण्ड–माधव नेपाल

काठमाडौं । आइतबार मध्यान्हसम्म पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल एउटा मिसनमा थिए । संसदीय दलबाट ओलीलाई हटाउन संसद सचिवलायमा निवेदन दिने, प्रमाणिकरण गर्नुपरे पनि लामबद्ध सांसदहरु उपस्थित भएर प्रमाणित हुने र प्रधानमन्त्रीबाट पनि केपी ओलीलाई हटाई छोड्ने रणनीतिमा प्रचण्ड नेपाल थिए । सँगै सल्लाह र निर्णय गर्दै प्रचण्ड नेपाल अगाडी बढिरहेकै थिए । तर त्यसको केही घण्टामै आफुहरु बीच अलग अलग पार्टीमा पुग्ने गरी ‘डिभोर्स’ गर्नुपर्ला भन्ने सायदै सोचेका थिए होलान् ।

तर उनीहरुले नसोचेको परिणाम जब अदालतले दियो, दुवै नेता खङरङ भए । प्रधानमन्त्री केपी ओलीले अदालतसम्म सेटिङ कसरी गर्दा रै छन् भन्ने भेउसम्म पनि उनीहरुले पाएनन् । त्यसपछि भने अमिलो मन लाएर सँगै लामो सहकार्य सोचेका प्रचण्ड नेपाल बिदाईका हात हल्लाउन पुगे । सर्वाेच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र बीचको एकतालाई रुचाईदिएन् । माग दावी भन्दा बाहिर पुगेर अदालतले निर्वाचन आयोगको क्षेत्राधिकार सम्मलाई हस्तक्षेप गर्ने गरी निर्णय सुनाईदियो–साविक एमाले र माओवादी केन्द्र साविककै अवस्थामा रहने ।

त्यसको सवैभन्दा ठूलो खड्को माधव नेपाल पक्षलाई प¥यो । ओलीलाई छोड्दा पार्टी र चुनाव चिन्ह छोडनुपर्ने, आफुसँग रहेका नेताहरु पनि क्रमशः छुट्दै जाने अवस्था आउन सक्ने र प्रचण्डसँग मिल्दा माओवादीमा विलय भएको अर्थ लाग्न सक्ने भएकोले माधव नेपाल पक्ष धेरै तनावमा पर्यो ।  त्यसपछि भने माधव नेपाल पक्षका स्थायी समितिका १३ नेताले बानेश्वरस्थित अर्याल होटलमा छुट्टै छलफल गर्यो । पूर्ववत पार्टीमा रहने र अन्तरसंर्घष गर्नुपर्ने निश्कर्ष त्यहाँ निस्कियो । त्यसपछि प्रचण्ड सहित नेताहरुसँग अनौपचारिक बैठक बस्यो ।

माधव नेपाल पक्षिय एक नेताले सफलखबरसँग भने, बैठकको शुरुमै अध्यक्ष प्रचण्डले बोले । प्रचण्डको भनाई उदधृत गर्दै ति नेताले भने,–‘फैसलाले नयाँ स्थिति पैदा गरिदियो । हामीले धारणा राख्दा यो राजनीतिक फैसला हो, यसमा सहमति छैन भन्ने हो । तर अस्वीकार गर्छौ, यसलाई मान्दैनौं भनेर जाने अवस्था रहेन र भन्न पनि मिलेन । यसलाई मानेर जानुको विकल्प हामीसँग भएन् । अब स्थीति नयाँ बन्न पुग्यो । फरक ढंगले जानुपर्ने स्थिति आयो । अदालतले यो स्थितिमा ल्याइदियो ।’

प्रचण्डपछि बोलेका माधव नेपालले पनि त्यसै भने । ‘अदालतको फैसलालाई सम्मान गर्नुपर्छ । जे–जे आइलाग्छ, सम्हाल्दै फेरि एकता गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनुपर्छ । अहिले हामीले मन ठूलो बनाएर अलग हुनुको विकल्पै रहेन् । हामी जँहा रहेपनि फेरि एकताको पहल गर्नु नै पर्ने हुन्छ ।’ माधव नेपालले भने । त्यसपछि भने अन्य नेताहरुले पनि पालैपालो धारणा राख्न थाले ।  तर, योगेश भट्टराई भने बैठकको शुरुमै केही बेर बसेर बोल्दै नबोली निस्किए । त्यसपछि धारणा राखेका अन्य नेताहरुले भने पार्टी एकता गर्दा भएका कमजोरीका विषयमा धारणा राखे । विगतको कमजोरीबाट पाठ सिकेर फेरि पनि एकताबद्ध पहल कदमी लिनुपर्ने धारणा दुवै तर्फका नेताले राखे ।

भीम रावलले भने अदालतको निर्णय यस्तो आउनुभित्र राष्ट्रिय अन्तराष्ट्रिय चलखेल हाबी भएको तर्क गरे । अदालतले यस्तो फैसला गर्नुको पछाडि विदेशी चलखेल भएको आशंका उनले गरे । अनि भने,–‘यो राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेलविना भएकै होइन् । केहीलाई कम्युनिष्ट पार्टी एक भएर सत्ता चलाएको पनि मन परेको थिएन् । उनीहरुकै डिजाइनमा यो खेल भएको हो ।’

त्यसपछि अन्तिममा यो नै अन्तिम बैठक रहन पुग्यो । अन्तिममा छुट्टिने बेलामा प्रचण्ड र माधव नेपालले नेताहरुलाई भने, –‘अहिलेलाई यस्तै भयो । हामी सब आ–आफ्नो ठाँउमा केपी प्रवृति विरुद्ध लडौं, फेरि पनि नयाँ शिराबाट एकताको पहलकदमी गरौं ।’
 

प्रतिक्रिया दिनुहोस