नेप्सेले गलत सूचना दिदा, लगानीकर्ताहरु परे अलमलमा

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, १२ : ५२
नेप्सेले गलत सूचना दिदा,  लगानीकर्ताहरु परे अलमलमा

काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार  एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनःस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जले वेवसाइट हेरेर अलमलमा परे ।

सेयर कारोबार मापक नेप्से परिसूचक २ मिनेटमा नै अस्वभाविक तरिकाले घटेको थियो । तर समग्रमा बजार भने नघटेको पाइएको छ । नेप्से परिसूचक घटेको नभई नेप्सेले गलत सूचना दिइएको पुष्टि भएको हो ।

निफ्राको सेयर मूल्य शतप्रतिशतले घटेको देखाउँदा समस्या भएको हो, वास्तवमा अहिले पनि बजार बढिरहेको छ’ नेप्सेका एक अधिकारी भन्छन्, ‘यो गल्ती हाम्रै तर्फबाट भएको हो, शतप्रतिशतले निफ्राको मूल्य घटेको देखाउँदा समस्या भएको तर जानजानी भएको होइन ।’

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा को सेयर मूल्य बुधबार शतप्रतिशत रुपैयाँले घटेर शून्यमा झरेको नेप्सेको वेवसाइटमा देखाइएको छ । जबकी कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन । ‘१० प्रतिशतले भन्दा बढ्नै नसक्ने मूल्य सय प्रतिशत बढेको देखियो, यो प्राविधिक समस्या हो, हल होला’ ती अधिकारी भन्छन् ।

उता स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाट पनि सेयर बजार अहिलेसम्म सकारात्मक नै रहेको बताउँछन् । उनका अनुसार नेप्से परिसूचक १२ बजेसम्म बढेर हरियो नै देखिएको छ । उता  नेप्सेको वेवसाइटमा भने ७० अंक भन्दा धेरैले परिसूचक घटेको देखाइएको छ ।

‘अहिले नेप्सेको वेवसाइटमा देखिएको तथ्यांक गलत हो, बजार पोजिटिभ नै छ’ उनले भने, ‘निफ्राको मूल्य शतप्रतिशतले घटेको देखाइएकोलाई सच्याउने हो भने साइजमा आइहाल्छ ।’ उनले लगानीकर्ताहरुले अहिले नै आत्तिहाल्न नहुने बताए ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि बुधबारको समस्यालाई नजिकबाट हेरेको ताएको छ । बोर्डका विभागीय अधिकारी विनयदेव आचार्यले के भएको भन्ने विषयमा नेप्सेलाई सोध्ने तयारी भइरहेको बताए । वास्तविकता आएपछि बोर्डले आवश्यक एक्सन लिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस