गौरवको आयोजना

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम, तोकिएको मितिभित्रै सम्पन्न गर्न प्रमुख रेनु दाहालको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १४ : ५६
भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम, तोकिएको मितिभित्रै सम्पन्न गर्न प्रमुख रेनु दाहालको निर्देशन

चितवन । चितवनको भरतपुर महानगरको गौरवको आयोजनामध्ये सिटी हल पनि प्रमुख आयोजना हो । यतिबेला सिटी हल निर्माणको काम रातदिन धमाधम भइरहेको छ । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजनाले मूर्त रुप पाउँदै गइरहेको छ । महानगर प्रमुख रेनु दाहालले आज सिटी हल निर्माणको कामको निरीक्षण गरिन् । निरीक्षणको क्रममा तोकिएको समयभित्रै सिटी हल निर्माण सम्पन्न गर्न प्रमुख दाहालले निर्देशन दिएकी थिइन् । 

CG Hills

भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालय पछाडि  ४ बिघा ४ कठ्ठा जग्गामा धमाधम सिटी हल निर्माणको काम भइरहेको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नेगरी ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपैयाँ लागतमा ठेकेदार कम्पनीसँग सम्झौता भएको हो । ठेकेदार कम्पनी इण्डो–सगुन–रौताहा जेभीले यतिबेला रातदिन काम गरिरहेको छ । 

महानगर प्रमुख दाहालले लामो प्रतीक्षापछि तीव्रगतिमा निर्माणको काम भइरहँदा ज्यादै खसी लागेको बताइन् । उनले आफ्नै कार्यकालभित्र महानगरको सिटी हल निर्माणको काम सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिन् । उनले भनिन्, ‘धमाधम निर्माणको काम भइरहेको छ, निर्माणमा कुनै समस्या हामी आउन दिदैनौँ ।’ प्रमुख दाहालले आफ्नो कार्यकालको गौरवको आयोजनाभित्र रहेको सिटी हल निर्माणको काम समयअगावै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएकी थिइन् । 

उनले भनिन्, ‘तीन वर्षको प्रतीक्षापछि बन्न लागेको सिटी हल जुनकुनै हालतमा बनाउनु नै छ, कुनै निर्माणको क्रममा कुनै समस्या आए महानगरलाई भन्नुहोला, तर निर्माणको काम एकदिन पनि रोकिनुहुँदैन ।’ प्रमुख दाहालले सिटी हल निर्माणको गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने बताइन् । उनले भनिन्, ‘तोकिएअनुसार गुणस्तर कायम हुनुपर्छ, बेलाबेलामा हामी अनगुमन गर्नेछौँ, समयमै सकिनेमा म पूर्ण विश्वस्त पनि छु ।’ 

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबीच ०७७ मंसिर १८ गते इण्डो–सगुन–रौताहा जेभीसँग निर्माणको सम्झौता भएको हो । सिटी हल निर्माणको कार्य धमाधम भइरहेको इण्डो–सगुन–रौताहा जेभीका प्रमुख सहदेव खड्काले बताए । उनले भने, ‘हामीले १२० भन्दा बढी निर्माणका कर्मचारी राखेर काम गरिरहेका छौँ, तोकिएको समय २७ महिना हो, त्योभन्दा अगावै हामी निर्माण सम्पन्न गर्नेछौँ ।’ 

सिटी हल निर्माण गर्न यस आर्थिक वर्ष ०७७\७८ को लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सिटी हलको अहिले सोलिङ र इस्काभेसनको काम भइरहेको निर्माण पक्षले जनाएको छ । कामगर्ने क्रममा कुनै अवरोध नआए समयअगावै काम सकिने निर्माण व्यवसायी खड्काले बताए । उनका अनुसार निर्माणस्थलभित्रै रेडिमिक्स प्लान्ट नै राखेर काम भइरहेको छ । ६ हजार ५०० वर्गमिटर सिटी हलले ओगट्छ । सिटी हलको उचाइ २५ मिटरको हुनेछ ।  केन्द्र सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा भरतपुरमा सिटी हल निर्माणको काम थालिएको हो । 
सात हजार १०० फिटमा मुख्य सभा हल निर्माण हुनेछ  । जहाँ  २ हजार जना अटाउने क्षमता रहनेछ । छेउछाउँमा पनि २०० जना क्षमताको हल बन्नेछ । यस्तै पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ । अन्तर्राष्ट्रियस्तरको बन्ने भनिएको आधुनिक सिटी हल दुई हजार जना मानिस अट्न सक्ने क्षमताको हुने सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।  

उनका अनुसार सिटी हलमा एउटा ठूलो हल हुन्छ, त्यसमा दुई हजार जना अट्न सक्छन् । अर्को एउटा सानो हल पनि हुन्छ । त्यसमा तीन सय जनासम्म अट्छन् । साथमा सानदारका किचन, भण्डारण लगायतका कक्षहरु हुनेछन् । एक बिघामा सिटी हल बन्नेछ । सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था हुनेछ ।  ठूला सभा, सम्मेलन तथा कार्यक्रम आयोजना गर्न सहज हुनेछ । तीन वर्षको लामो प्रतिक्षापछि सिटी हल निर्माणले गति पाएको छ । भरतपुर महानगरको सिटी हल अन्तर्राष्ट्रिय स्तरको नमुना बन्नेछ ।