निर्वाचन सम्बन्धी काम तत्काल रोक्न माग

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १५ : ०५
निर्वाचन सम्बन्धी काम तत्काल रोक्न माग

फाइल तस्विर

काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले सोमबार निर्वाचन आयोगमा पुगेर निर्वाचन सम्बन्धी काम तत्काल रोक्न माग गरेको छ ।

प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगसँग माग गरेको हो ।

‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निर्क्यौल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ’ प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलले भने, ‘संसद विघटन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै संसद विघटन भएको अवस्थामा निर्वाचनसम्बन्धी काम अदालतको फैसला नआउँदासम्म रोक्नुपर्छ भनेर हामीले भनेका छौं।’

सर्वोच्चमा मुद्धा विचाराधीन रहेकाले निर्वाचनको प्रक्रिया रोक्न माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका शीर्ष नेताहरु आयोगमा पुगेका थिए । ‘अवैधानिक प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु भनेको अदालतलाई दबाव दिनु वा अवज्ञा गर्नु जस्तै हो भन्यौं’, आयोगमा पुगेका प्रचण्ड–माधव समूहका नेता रामनारायण विडारीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए । सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी छ ।