दलको विवादमा राजदूत सक्रिय

पत्रपत्रिकाबाट

शुक्रबार, १० पुस २०७७, ०७ : ०७
दलको विवादमा राजदूत सक्रिय

काठमाडां । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चिनियाँ चासो बढेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटिन् । भेटमा दाहाल र राजदूत होउबीच साझा चासोका विषयमा छलफल भएको चिनियाँ राजदूतावासका तृतीय सचिव याङ सीले बताए । 

मंगलबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् । गत वैशाख, असार र मंसिरमा सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन उनले ‘सहजीकरण’ गरेकी थिइन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न राजदूत होउको सक्रियता बढेको हो ।

पूर्वप्रधानमन्त्री तथा राज्यका उच्च अंगमा रहेका पदाधिकारीले भेटवार्ता गर्दा कूटनीतिक आचारसंहिताअनुसार परराष्ट्र मन्त्रालयलाई थाहा दिनुपर्ने र भेटवार्तामा परराष्ट्रका प्रतिनिधि अनिवार्य हुनुपर्ने उल्लेख छ । तर राष्ट्रपति भण्डारी र दाहालसँग चिनियाँ राजदूत होउबीच भेटवार्ता हुँदा परराष्ट्रका कुनै पनि प्रतिनिधिको सहभागिता नरहेको मन्त्रालयका एक उच्च पदाधिकारीले बताए । कान्तिपुरमा खबर छ ।