नेकपा सचिवालयको त्यो बैठक, जहाँ भए यस्ता संवाद

बुधबार, २४ मंसिर २०७७, १२ : ०२
नेकपा सचिवालयको त्यो बैठक, जहाँ भए यस्ता संवाद

file photo

काठमाडौँ । गत शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा पटकपटक आफ्ना भनाई र अडानको औचित्य पुष्टि गर्न खोज्नुभएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आइतबार पार्टी मुख्यालय, धुम्बाराहीको स्थायी समिति बैठकमा अनुपस्थित हुनुभयो । र, ढुंगे युगमा महाराजहरूले दूतमार्फत् पठाउने पत्रको सम्झना गराएझैं स्थायी समिति बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आफ्नो दुईपन्ने असमर्थतापत्र वाचन गर्न लगाउनुभयो ।

अघिल्लो दिनको सचिवालय बैठकमा उहाँबाट स्थायी समिति बैठकलाई पर धकेल्न धेरै प्रयास गरिँदा अरुभन्दा एक कदम अघि बढेर उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो ‘कुनै हालतमा बैठक भोलि नै बोलाउनुपर्छ ।’ नसोचेको सदस्यबाट त्यो खालको दबाब आएपछि प्रधानमन्त्री पनि केही अलमलमा पर्नुभयो । बरु, गौतमको कुरोलाई समर्थन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीतर्फ फर्केर भन्नुभयो ‘ठीक छ, भोलि नबोलाउने हो भने कहिले बोलाउने त लौ भन्नुस् । दुई दिन, चार दिन कति दिन चाहियो ?’

तर, त्यसबखत प्रधानमन्त्रीले स्थायी समितिको बैठकबारे खासै उल्लेख गर्नु भएन । घुमाई फिराई उहाँको भनाईको चुरो ‘बैठक स्थगित गर्ने र समस्यालाई कार्यदलमा लगेर अल्मल्याइदिने थियो’ । त्यसपछि पनि सचिवालय सदस्यहरूले पटक पटक ‘ठीक छ, सार्ने भए तपाईंलाई उपयुक्त हुने मिति भन्नुस् न ! ’ भनेर सोधेका थिए । त्यसबखत चाँहि उहाँले प्रष्टसँग आफ्नो त्यागको रोडम्यापबारे मुख खोल्दै भन्नुभयो ‘म महाधिवेशनपछि अध्यक्ष र आमनिर्वाचनपछि मात्र प्रधानमन्त्रीबाट हट्छु, त्यसभन्दा पहिले हट्छु भनेर नसोचे हुन्छ’ ।

प्रधानमन्त्रीको कुरोबाट एकछिन शान्तजस्तो देखिएको बैठकको माहौललाई तताउँदै नेपालले भन्नुभयो ‘त्यसोभए ठीक छ, त्यागको कुरा गर्नुहुन्छ भने सबैभन्दा पहिले तपाईंबाटै शुरु गर्नुस् । अनि अरु को(को तपाईंसँगै त्याग गर्न तयार छन् त्यो पनि हेरौँला ।’

बैठकमा उठेको त्यागको विषयलाई विषयान्तर गर्दै महासचिव विष्णु पौडेलले सचिवालयमा प्रस्तुत गरिएका र भएका विषयमा त्यहिँबाट समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले कि हामीले सचिवालयको औचित्य छैन, हामी असफल भयौं भन्न सक्नुपर्यो,  होइन भने समाधान यहिँ नै खोज्दा बेश होला भन्ने आशय राखेपछि फेरि माहौल तातेको थियो ।

महासचिवको भनाईलाई काउण्टर दिँदै बैठकमा गम्भीर प्रश्न तेर्साइयो ‘त्यसोभए त्यो पनि ठीकै छ, सचिवालय बैठकको औचित्य छैन भने स्थायी कमिटीले नै निर्णय गरोस्,  पुर्नगठन गर्ने हो भने त्यसैले गर्छ, भंग गर्ने हो भने त्यो काम पनि त्यसले नै गर्छ । सचिवालयमा एक से एक अनुभवी नेतृत्व छ । त्यस्ता व्यक्तिहरू भएको सचिवालयको नै कुनै अर्थ छैन भनेर कसरी भन्न सक्नुहुन्छ ?’ 

त्यसपछि अध्यक्ष ओलीले आफ्नो तिक्तता पोख्न थाल्नुभयो ‘मैले पनि बुझेको छु,  त्यहाँ (स्थायी समितिको बैठकमा के गर्छन् भन्ने कुरो । त्यहाँ मेरो पूरै मानमर्दन गर्छन् ।’ प्रधानमन्त्रीको भनाईबाट तात्नुभएका नेता नेपालले सोझै भनिदिनुभयो ‘त्यसोभए तपाईं बैठकबाटै किन डराउनुहुन्छ ? अहिलेको समस्या तपाईंको चिन्तनको उपज हो । तपाईंले अझैपनि आफूलाई सुप्रिम ठान्नुभएको छ  । तपाईंमा आत्मालोचनाको कुनै भाव छैन । अहँकार मात्र छ ।’ आफ्नो एकोहोरो आक्रामक शब्दवाण सुनेर बसेका सबैलाई हेर्दै नेपालले थप्नुभयो ‘विधि, पद्धति, कमिटी प्रणालीउपर छलफल गरौं भनेर हामीले तपाईंलाई कतिचोटी भन्यौँ ? के(के विषयमा तयारी गर्ने हो, अर्थतन्त्रको बारेमा गर्ने कि, भ्रष्टाचार या प्रशासन सुधारकै बारेमा गर्ने कि यावत विषयलाई बैठकमै छलफल गरौं भनेकै हो । हामीले तपाईं भ्याउनुहुन्न भने त्यो कामको जिम्मा हामीलाई दिनुस्, हामी गर्छौँ समेत भनेका थियौं । आवश्यकताअनुसार को कसलाई बोलाउनुपर्छ त्यो काम पनि गरौँला भनेको होइन ?’

त्यतिबेरसम्म प्रधानमन्त्री तथा अध्यक्ष चुपचाप बसेर सुनिरहनुभयो । समस्यालाई कोट्याउने र बल्झाउने काम कसले गरेको हो ? भनेपछि प्रधानमन्त्रीले संक्षिप्त जवाफ फर्काउँदै भन्नुभयो ‘कर्णाली प्रदेशमा तपाईंहरूले के के गर्नुभयो सबै थाहा छ’ । उहाँको कुरो सुनेर झन् तात्नुभएका नेपालले पनि प्याच्च भनिहाल्नुभयो ‘थाहा छ भने बैठकमा ल्याउनुस् अन्यथा कर्णालीको समस्या तपाईंले अहिले भर्खर मात्र शुरु गरेको होइन । कमिटी बनाउँदाखेरी नै अर्को पक्षका मान्छेलाई फाल्ने, आफ्नो गुटका मान्छेलाई राख्ने,  मन्त्री बनाउँदाखेरि सिनियर सिनियर सिसिएमलाई फाल्ने, जुनियर डिसिएम ब्यापारीलाई ल्याउने काम कसले गर्यो ?  तपाईंको  मापदण्ड त्यही हो ? सिनियर तपाईंको मान्छे भएको भए, म सिनियरलाई ल्याउँछु भन्नुहुन्थ्यो अनि आफ्नो मान्छे जुनियर भए काबिललाई ल्याऊँ भन्नुहुन्थ्यो, त्यहि हो तपाईंको सिद्धान्त ? ’

नेपाल बोल्दाबोल्दै ओलीले बीचैमा हस्तक्षेप गरेर कराउनुभयो ‘मेरो मान्छेलाई ठाउँ पुगेन भन्ने ?’ नेपालले पनि उहाँलाई जवाफ फकाईहाल्नुभयो ‘अब यस्ता नक्कली कुरा छोडिदिनुस् ।’ त्यत्तिकैमा गौतमले ‘त्यसोभए केपी कमरेडलाई के गर्दा सजिलो हुन्छ ?’ भनेर सोध्नुभएको थियो ।

प्रधानमन्त्रीलाई अनुकूल हुनेगरी रामबहादुर थापा ‘बादल’ ले समस्या समाधनको लागि कार्यदल बनाउने र त्यसले दुइटै प्रस्तावको सट्टा सहमतिको प्रस्ताव ल्याउने भन्नुभएको मात्र थियो वामदेवले दह्रो जवाफ फर्काउनुभयो ‘अनि सहमतिको प्रस्ताव आउँछचाहिँ कसरी ? जबकि यहाँ दुईतिरबाटै आरोप लागेको छ । त्यसो हो भने पहिले दुईटै प्रतिवेदनलाई फिर्ता गर्नुपर्यो । तरपनि  त्यस्तो कार्यदलको जिम्मा म चाँहि लिन्नँ । म यसमा बस्दा पनि बस्दिनँ ।’

कार्यदलको कुरो आउने बित्तिक्कै अध्यक्ष दाहालले प्रस्ताव गर्नुभयो ‘कार्यदल नै बनाउनु छ भने जाऊँ त्यसोभए स्थायी कमिटीमा । जे गर्छ, त्यसैले गर्छ ।’ दाहालको उक्त प्रस्तावलगत्तै प्रधानमन्त्री पड्किनुभयो ‘स्थायी कमिटीमा के पस्किने ? त्यहाँ लगेर अरु थप छरपस्ट पार्ने ? सबै चिज पहिले नै छापेर बाँड्ने ? पार्टीको लोगो पनि पहिले नै प्रयोग गर्नुभयो । अब गर्न बाँकी के छ र ?’

प्रधानमन्त्रीलाई जवाफ दिँदै प्रचण्डले भन्नुभयो ‘मैले कहाँ त्यसो गरेँ ? हामीलाई खामबन्दी बुझाउनुअघि र बैठक माग गरिएको पत्रको जवाफ दिनुअघि नै तपाईंले सबै कुरा बाहिर लानुभएको हो । डकुमेन्ट त त्यसले बाहिर पठाउँछ जसले डकुमेन्टको एकै ठाउँमा पिडिएफ बनाउँछ । कम्प्युटरको पिडिएफ फाइल हामीसँग हुन्छ ?’ उहाँले थप्नुभयो ‘जसले आफ्नो कम्प्युटरमा टाइप गरेको छ, उसले मात्रै पिडिएफ बनाउँछ । तपाईंले हामीलाई पिडिएफ पठाएको त होइन । पठाएको हार्डकपी मात्रै हो ।’ प्रचण्डको स्पष्टीकरणमा थप्दै माधव नेपालले प्रश्न गर्नुभयो ‘प्रमाण चाहियो कसले गरेको भनेर ? के त्यो काम पनि हामीले नै गरेका थियौं भन्ने लागेको छ ?’ त्यसपछि भने प्रधानमन्त्री फेरि नाजवाफ हुनुभएको थियो ।

सँधैझैँ पछिल्लो सचिवालय बैठकमा पनि ईश्वर पोखरेलले सहमतिको कोसिस गरौँ भन्ने रटान लगाउनु भएको थियो । रोडम्याप देखाउँदै उहाँले ‘ठूलो कमिटीमा कहाँ सहमति हुन्छ र ? सानै कमिटीमा सहमति हुन्छ’ भन्ने बित्तिक्कै गौतमले थपिहाल्नुभयो ‘सानोले नसकेपछि ठूलैमा जाने त हो नि ! सचिवालयले सकेन,  स्थायी कमिटीमा जानुपर्यो । स्थायी कमिटीले पनि सकेन भने केन्द्रीय कमिटीमा जान्छ । आखिर पार्टीमा सार्वभौम अधिकारसम्पन्न अंग भनेको त्यहि हो ।’ बैठकमा भएको र हुने गरेको चर्काचर्कीबारे कुरो उठेपछि माधवले प्रष्टिकरण दिनुभएको थियो । उहाँले थप ब्याखा गर्दै भन्नुभयो ‘पहिले एमालेमा योभन्दा ठूलो मारामार भएको थियो ।  टेबुल ठोकाठोक भएको थियो । बैठकमा हात हालाहाल हुनेसम्मको अवस्था पनि देखिएको थियो । तर, ती सबै समस्या र घटना पार्टीको आन्तरिक बैठकमा भएको हो । अहिले भएको चर्काचर्की कुनै पहिलो चोटी भएको हो र ?’ त्यतिबेलाको घटना सुनाउँदै नेपालले भन्नुभयो ‘मदन भण्डारी र सिपी एउटै कोठामा सुत्न मान्नुभएन । नेताहरूबीच त्यो तहको तिक्तता थियो त्यसबेला तर पनि पार्टी चलिरह्यो । विवादले पार्टीलाई कहिल्यै कमजोर बनाएन । अनि अहिलेको बहसले चाँहि पार्टी बिगार्छ ?’ प्रधानमन्त्रीतर्फ प्रश्न सोझाउनुभयो ‘यो सबै समस्या तपाईंले आफूले कुनै गल्ती नै गरेको छैन, ममाथि कसैले औँला उठाउनै सक्दैन भन्ने सोचको उपज हो ।’

त्यसपछि पनि स्थायी समिति बैठकको बारेमा नै कुरो उठाउँदै प्रधानमन्त्रीलाई सोधियो ‘दुई चार दिनको समय चाहिन्छ भने भन्नुस् तर कहिले बस्ने ?’ प्रधानमन्त्री स्थायी कमिटीको बैठक डाक्ने कुरो गरेपछि मौन बस्नुको सोझो अर्थ हो ‘मिति तोकेपछि त स्पष्टसँग बन्धनमा परिने भइयो’ । बैठकको मिति नतोकेपछि हरेक दिनजसो अर्का अध्यक्ष प्रचण्डको बालुवाटारतर्फको दौडधुप विगतमाझैं शुरु हुन्छ । त्यसपछि महासचिवले पनि दिन दिनैजसो ‘म के गरुँ ?’ भनेर सोध्ने हुनुभयो । त्यतिले पनि नपुगेपछि बैठक बोलाउनको लागि सचिवालयका बहुमत सदस्यहरू निवेदनपत्र बोकेर, दर्ता गरेर फेरि लामबद्ध भएर बालुवाटार जानैपर्ने हुन्छ । त्यतिले पनि पुगेन भने स्थायी कमिटीका सदस्यहरूको लाइन शुरु हुन्छ । हरेक दिन २०,  २५ जनाको लाइनले हजुर बैठक बोलाई पाऊँ भन्नेछन् । त्यसपछि आज भेट्ने टाइम छैन भनेर पठाइदिएपछि भोलिपल्ट उनीहरू फेरि त्यहि कुरो लिएर आउने भए । उनीहरूलाई ३ नं.गेटमा दर्ता गरिदिनु भनेपछि यता काग कराउँदै गर्छ, उता पिना सुक्दै गर्छ भन्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले मसक्क आँट्नुभएको रणनीतिलाई अन्ततः शनिबारको सचिवालय बैठकले चिर्न सफल भएको बताइन्छ  । (जनआस्थाबाट)

प्रतिक्रिया दिनुहोस