गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक

सफल खबर संवाददाता

शनिबार, १५ कार्तिक २०८२, १२ : ४४
गुण्डुमा सुरु भयो एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केही बेरअघिबाट बैठक बसिरहेको छ।

बैठकको मूल एजेण्डा महाधिवेशको तयारी र जनपरिचालन रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।बैठकले महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ ।

यसपटकको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुनसक्ने प्रारम्भिक अनुमान छ । सौराहाको १०औं महाधिवेशनमा आयोजकसहित १९ सय हाराहारीमा प्रतिनिधि थिए ।

गौतमका अनुसार एमालेमा अहिले ६ लाख ६३ हजार संगठित सदस्य कायम छ । १० औंमा एक हजार सदस्य बराबर ३ जना रहेकोमा यसपटक सदस्य संख्या बढेकाले १२ सयको अनुपातमा ३ जना प्रतिनिधि छनोट हुन सक्ने खाका बनाइएको छ ।

त्यस्तै संसद पुनस्स्थापनाको मूल एजेन्डासहित जनपरिचालनसम्बन्धी अर्को एजेण्डामा सचिवालयमा छलफल हुनेछ । सरकारले शान्तिपूर्ण र निष्पक्षरूपमा चुनाव गराउने ग्यारेन्टी नगरेसम्म चुनाव सम्भव नभएको भन्दै एमालेले प्रतिनिधिसभा पुनस्र्थापनालाई जोड दिएको छ ।

यस्तै बैठकमा हिजो पार्टी अध्यक्ष केपी ओलीले विगतमा पार्टी छाडेर गएकाहरुलाई घर फर्किन भन्दै गरेको आह्वानको विषयमा पनि छलफल हुने जनाइएको छ।