काठमाडौं । भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाह र नेपाली सेनाबीचको सम्बन्धलाई लिएर विभिन्न तहमा चासो छ ।
तत्कालिन अवस्थामा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि उनले जंगी अड्डा पुगेर प्रधानसेनापतिसँग गरेको भेटघाटदेखि लिएर पछिल्ला राजनीतिक घटनाक्रममा सेनासँग संवाद गर्न गरेको सार्वजनिक अपिलसम्मका प्रसंगहरू बेला–बेलामा चर्चामा आउने गरेका छन् ।
विशेषतः जेनजी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापनमा नेपाली सेनाको भूमिकाबारे उठेका प्रश्नहरू अझै सेलाएका छैनन् । आन्दोलनका बेला आवश्यक सुरक्षा पहल नगरेको, सिंहदरबार आसपासको संवेदनशील क्षेत्रमा समयमै समन्वय नदेखिएको जस्ता आरोपहरू पनि सार्वजनिक भएका थिए ।
यही पृष्ठभूमिमा हालको राजनीतिक परिवर्तनसँगै नेपाली सेनाले विकसित घटनाक्रमलाई चासोका साथ नियालिरहेको देखिन्छ । निर्वाचन परिणाम सार्वजनिक भएसँगै प्रधानसेनापति अशोकराज सिग्देलले पूर्व प्रधानसेनापतिहरूसँग गरेको छलफलले पनि यसलाई थप अर्थपूर्ण बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट यसपटक पाँच जना पूर्व सुरक्षाकर्मीहरू प्रतिनिधिसभामा निर्वाचित भएका छन् । ओखलढुंगाबाट पूर्व एआईजी विश्वराज पोखरेल, कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रमसिंह थापा, गुल्मी–२ बाट पूर्व डीएसपी गोविन्द पन्थी, काठमाडौं–३ बाट महानगर प्रहरीका पूर्व प्रमुख राजुनाथ पाण्डे र झापा–४ बाट शम्भुप्रसाद ढकाल ९शम्भु सुस्केरा० विजयी भएका हुन् ।
यी पूर्व सुरक्षाकर्मीहरू आगामी सरकारमा मन्त्री बन्ने वा नबन्ने विषयलाई लिएर सुरक्षा वृत्तमा विशेष चासो देखिएको छ । चैत ४ गते जंगी अड्डामा भएको प्रधानसेनापति अशोकराज सिग्देलको आयोजनामा भएको छलफलमा पनि यही विषय केन्द्रमा रहेको सुरक्षा स्रोतहरूको भनाइ छ । उक्त छलफलमा पूर्व प्रधानसेनापतिहरू प्यारजंग थापा, गौरवशमशेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मा सहभागी थिए ।
स्रोतका अनुसार, पूर्व सुरक्षाकर्मीहरू मन्त्री बन्ने सम्भावनालाई लिएर सेनाभित्र मिश्रित धारणा देखिएको छ । सुरक्षा निकायका उच्च तहमा पुगेका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्नु र निर्वाचित हुनु स्वाभाविक मानिए पनि सबै तहका पूर्व सुरक्षाकर्मीहरू मन्त्री बन्ने अवस्थालाई भने सहज रूपमा नलिइएको बुझिन्छ ।
विशेषगरी, पदअनुसार गर्नुपर्ने प्रोटोकल र सम्मान व्यवस्थापनका कारण यस्ता नियुक्तिहरूले संस्थागत असहजता निम्त्याउन सक्ने आकलन गरिएको स्रोतको दाबी छ । यही कारण सकेसम्म पूर्व सुरक्षाकर्मीहरूलाई मन्त्री नबनाउँदा उपयुक्त हुने धारणा केही सुरक्षा अधिकारीहरूले व्यक्त गरेको बताइन्छ ।
उक्त सन्देश राजनीतिक नेतृत्वसम्म पुर्याउनेबारे समेत छलफल भएको स्रोतले जनाएको छ । यस सन्दर्भमा रास्वपाबाट निर्वाचित पाँच पूर्व सुरक्षाकर्मीहरूको आगामी भूमिकाबारे सुरक्षा वृत्तमा चासो अझै कायम रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना