काठमाडौं । तीन दिनपछि चैत १३ गते अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन झापामा हुने तालिका छ । त्यसअघि आज (चैत १०) निर्वाचनसम्बन्धी तीन मुद्दामा फैसला हुने सम्भावना छ । त्यसले एन्फाको निर्वाचनमा प्रभाव पार्न सक्नेछ ।
एन्फाका उपाध्यक्ष विराटजंग शाही र सदस्यद्वय रुपेश अधिकारी र रविन चन्दले निर्वाचनमा उमेदवार बन्न पाऊँ भनी उच्च अदालत पाटनमा दिएको मुद्दामा सुनुवाइ हुन लागेको हो । एन्फाले एक महिनाभन्दा कम अवधि राखेर निर्वाचनको घोषणा गरेको थियो । त्यसपछि विवाद चर्कंदा निर्वाचन हुने/नहुने अन्योलका कारण उमेदवार बन्न नपाएको भन्दै उनीहरूले मुद्दा दायर गरेका थिए ।
यो मुद्दामा शाही पक्षले जितेमा निर्वाचनमा असर पर्नेछ । उनीहरूलाई उमेदवारी दर्ता गराउने प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । त्यसले निर्धारित निर्वाचन समयमा फरक पर्नेछ ।
अर्को मुद्दा एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका दीपक खतिवडाले प्रतिस्पर्धी उमेदवार दावा लामाविरुद्ध दायर गरेका हुन् । खतिवडाले लामा लागुऔषध बेचबिखनको अपराधमा दोषी करार भएका व्यक्ति भएको भन्दै उनको उमेदवारी खारेज गरी पाऊँ भनी रिट दायर गरेका थिए । यसको फैसला खतिवडाका पक्षमा आएमा वरिष्ठ उपाध्यक्षमा उनी र सुन्दरनरसिंह जोशीको मात्र उमेदवारी कायम रहने सम्भावना छ ।
यस्तै, थ्री स्टार क्लबले आफ्नो ‘ए’ डिभिजन हैसियत फर्किएको र यहीअनुसार एन्फामा मताधिकार पाऊँ भनी दिएको मुद्दाको पनि आज पेसी छ । यो मुद्दामा थ्री स्टार विजय भएमा ‘ए’ डिभिजनको हैसियतले मताधिकारपत्रमा नाम रहेको एपीएफ क्लबका विषयमा के हुने भन्ने प्रश्न जोडिनेछ । त्यसले चुनावलाई असर पार्न सक्नेछ । हाल थ्री स्टारको स्थानमा एपीएफले ‘ए’ डिभिजनको हैसियतमा मताधिकार पाएको अवस्था छ ।
मुद्दा हाल्ने पक्ष पराजित भएमा निर्वाचनमा केही असर पर्ने छैन । तर, उनीहरूले जितेमा निर्वाचन मिति नै सार्नुपर्ने अवस्था आउन सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०८२, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन: एन्फा
एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने
फिफाले एन्फामाथिको आर्थिक बन्देज हटायो
एन्फाको सहायक महासचिव जोशीले दिए पदबाट राजीनामा
एन्फाको वार्षिक बजेट डेढ अर्ब