सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन, कुन नेता कता उभिए ?

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १७ : ४३
सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन, कुन नेता कता उभिए ?

काठमाडौँ । नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डबीच भनाभन नै भएको खुलासा भएको छ । खास गरी बैठकको विषयमा ओली र प्रचण्डबीच भनाभन भएको हो । प्रधानमन्त्री ओलीले सचिवालय बैठक राख्न जरुरी नभएको तर्क गरेपछि अध्यक्ष प्रचण्डले किन बैठक नराख्ने ? भन्दै प्रश्न गरेका थिए । 

प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै प्रतिवेदन ल्याएपछि नेकपाभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । अध्यक्ष प्रचण्डले आफूले ओलीको प्रश्नको उत्तर दिँदै पुरक प्रस्ताव ल्याउने बताएका छन् ।  दुई अध्यक्ष पार्टीको वैचारिक लाइन, नीति र एजेण्डामा भन्दा पनि व्यक्तिगत र राजनीतिक खिचातानीमा रुमल्लिरहेको उनीहरुले ल्याएको प्रस्तावबाट झल्किएको छ । बैठकको नराख्ने विषयमा ओलीको पक्षमा महासचिव विष्णु पौडेलमात्र उभिएका थिए, अन्य नेताहरु बैठक राख्ने पक्षमा देखिएका थिए । 

एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान ओलीले राखेका थिए । ओलीले प्रचण्डलाई ल्याएको प्रस्ताव फिर्ता लिन भनेपछि प्रचण्ड पनि आक्रोशित हुँदै किन फिर्ता लिने ? भन्दै ओलीलाई थप प्रश्न गरेका थिए । ओलीले आफ्नो मन्तव्यका क्रममा पनि प्रचण्डमाथि शब्दबाणले घोचपेच गरेका थिए । प्रचण्डले पनि ओलीलाई प्रश्नमाथि प्रश्न गरेका थिए । 

प्रचण्डको प्रस्तावका कारण थप समस्या भएको भन्दै बाहिरबाटै सहमति खोजिनुपर्ने भन्दै बैठक छल्ने कुरा ओलीको थियो । ओलीले बैठकबाहिरबाट समस्याको समाधान गर्ने बताएपछि प्रचण्डले प्रतिवाद गरेका थिए । बैठक कसैले पछि छल्न नमिल्ने र बैठकबाट निस्किने निचोडलाई सबैले मान्नुपर्ने बताएपछि दुई अध्यक्षबीच भनाभन भएको स्रोतले बतायो । प्रचण्डले प्रतिवाद गर्दा महासचिव विष्णु पौडेलले मात्रै ओलीको पक्षमा उभिए भने अरु नेताहरु प्रचण्डको पक्षमा थिए । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा ओली र प्रचण्डको दुबै प्रस्तावमाथि छलफल सुरु भएको औपचारिक तथा अनौपचारिक तहबाट छलफल गरेर समस्याको समाधान खोजिने बताए । 


 

प्रतिक्रिया दिनुहोस