नेकपाको सचिवालय बैठक सकियो, अध्यक्षद्वयको प्रस्तावमाथि नेताहरुले राखे आफ्नो धारणा

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १६ : ३८
नेकपाको सचिवालय बैठक सकियो, अध्यक्षद्वयको प्रस्तावमाथि नेताहरुले राखे आफ्नो धारणा

काठमाडौं । सुरक्षाको स्थिति देखाउँदै बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक केहीबेरअघि सकिएको छ ।  शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकले आज कुनै ठोस निष्कर्ष दिएको छैन ।

नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए । धारणा राख्दाराख्दै तीन घण्टा बित्यो र बैठक सकिएको जानकारी गराइयो । 

यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत लिखित पत्रका सम्बन्धमा छलफल भएको सचिवालयका एक सदस्यले जानकारी दिए । 

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भए पनि ठोस निष्कर्ष आउन सकेन । बैठकको शुरुमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ६२ औँ जन्मोत्सवमा केक काटिएको थियो । नेता बामदेव गौतमले पौडेललाई एक सय वर्ष बाच्नूस् भनेर शुभकामना दिएका थिए । 

अर्को बैठक बुधबार एक बजे बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस