नेपाल उद्योग वाणिज्य महासंघमा शक्ति हत्याउने चर्को खेल सुरु, कसले मार्ला बाजी ?

सफल खबर संवाददाता

शनिबार, ०६ मंसिर २०७७, १५ : ३०
नेपाल उद्योग वाणिज्य महासंघमा शक्ति हत्याउने चर्को खेल सुरु, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा शक्ति कसले हत्याउने भन्ने चर्को खेल सुरु भएको छ । महासंघको साधारणसभा मंसिरको ११ देखि १३ गतेसम्म हुन लागेको छ । 

उद्योग व्यवसायको विस्तार नगर्ने, बरु राज्यबाट जे जित सकिन्छ, कुम्ल्याउने, श्रमिक तथा गरिखाने वर्गलाई कुनै पनि सेवा सुविधा नदिने तथा आफू भने सधै मोटाएर बस्ने संस्थामा परिणत भएको छ महासंघ । उद्योग, व्यवसाय विस्तार गर्दा त्यसबाट आर्थिक वृद्धि हुन्छ, रोजगारीको अवसरमा समेत वृद्धि हुन्छ । तर, सधै अनेकन बाहाना गरेर पन्छिने र राज्यलाई मात्रै दोष देखाएर पन्छिने संस्थामा हुन लागेको निर्वाचनमा कोही कसैको पनि चासो देखिँदैन । 

कोरोनाकालमा श्रमिक मारेर बसेका व्यवसायीले इमान र नैतिकता नै भुलेपछि कसको के लाग्दो रहेछ र ? कुनै पनि श्रमिकलाई गत चैतको समेत तलब सुविधा नदिएका कारण पछिल्लो दिनमा श्रम सम्बन्ध असाध्यै नाजुक भएको छ । श्रमिकले वारपारको लडाई गर्नुपर्ने बताइरहेका छन् । यही बेला महासंघको ४५ औं साधारणसभा हुन लागेको छ ।  

महासंघको विधान अनुसार अध्यक्षको निर्वाचन हुँदैन । वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षलगायत अन्य पदाधिकारीका लागि भने निर्वाचन हुन लागेको छ । गोल्छा पनि आफैमा उद्योगी होइनन् । भारतीय मोटरसाइलक नेपालमा ल्याएर बिक्री गर्ने उनी केवल नाफाखोर व्यापारी मात्रै हुन् । कुनै उद्योग प्रतिष्ठान नै नभएका किशोर प्रधानलाई बोकेर हिँडेका छन् उनले । 

नेपाल विद्युत् प्राधिकरणको बिजुली प्रयोग गरेर पनि महसुल तिर्न आनाकानी गर्दै आएका महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले समेत यो वारपारको लडाई भएको कुतर्क गर्दै हिँडेका छन् । राज्यसँग माग मात्रै राख्ने मुरारकाले भने आफै बिजुलीको महसुल तिर्ने कुनै छेकछन्द नै देखाएका छैनन् । 

उनको लगानी रहेको अर्घाखाँची सिमेन्टले मात्रै झण्डै ३० करोड बराबरको महसुल तिर्न बाँकी रहेको बताइन्छ । राज्यलाई दिने सेवा सुविधा वा त्यसमाथि पनि कानूनअनुसार तिर्नुपर्ने महसुल पनि नतिरेर बसेका मुरारकाले कानून, विधिको कुरा गर्नु नै आफैमा गलत रहेको बताइन्छ । 

व्यवसायी चन्द्र ढकाल समेत महासंघको वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने भएकाले सो पदलाई आकर्षक पदको रुपमा लिने गरिएको छ । ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालले बोकेर हिँडेका छन् । 

महासंघका पूर्वअध्यक्षहरु रवीभक्त श्रेष्ठ, महेशलाल प्रधान, कुशकुमार जोशी, पद्म ज्योति र प्रदिपजंग पाण्डेले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनाउन छलफल चलाइरहे पनि सहमति जुट्न सकेको छैन । आफूहरु पनि सहमतिकै पक्षमा रहेको उम्मेद्वारद्वय प्रधान र ढकालले बताउँदै आएका छन् । प्रधानले आफू उमेरका हिसाबले पनि जेठो भएकोले यसपटक छाडिदिन ढकालसँग आग्रह गरेको र अर्को पटक ढकाललाई सहयोग गर्ने हल्ला चलाएका छन् । प्रधान यसअघि वरिष्ठ उपाध्यक्षमा गोल्छासँग पराजित भएका थिए । प्रधान मतका आधारमा ढकाल भन्दा धेरै पछाडि रहेका छन् । 

प्रधान प्यानलमा रहेका शौरभ ज्योति आफैमा उद्योगी होइनन् । उनी मोटरसाइलको व्यापारी हुन् । यस्तै अञ्जन श्रेष्ठ पनि गाडी व्यापारी हुन् । ढकाल समूहमा रहेका रामचन्द्र संघई र वस्तुगतमा वर्तमान उपाध्यक्ष उमेश श्रेष्ठ भने उद्योगी नै हुन् । उनीहरुको उद्योग व्यवसाय रहेको छ । त्यसकारण पनि उद्योगी नै हुनुपर्ने उनीहरुको माग छ । 

केही पदमा हारे पनि वरिष्ठ उपाध्यक्षसहित धेरै पद जित्ने विश्वास सहित मैदानमा उत्रिएको ढकाल समूह विगतको तुलनामा उत्साहित भएपनि ढुक्क भने देखिँदैन । 

प्रतिक्रिया दिनुहोस