माधव नेपाललाई बालुवाटारमै रोकेर ओलीले के भने ?

माधव नेपाल र वामदेव गौतम फकाउने ओलीको रणनीति फेरि पनि असफल

सफल खबर संवाददाता

शनिबार, २९ कार्तिक २०७७, ०८ : ५५
माधव नेपाललाई बालुवाटारमै रोकेर ओलीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टीभित्रै संकटमा परेका छन् । ओलीको व्यक्तिवादी अहंकार र गुटबन्दी क्रियाकलापका कारण ओली पार्टीमा अप्ठयारोमा परेपछि उनले त्यो अप्ठयारो खोल्ने अनेक जुक्तिको खोजी गरेका छन् । हिजो शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओली प्रवृत्तिको फेहरिस्त राख्दै पार्टी एकता यता ओलीले पार्टी र सरकारमा रहेर गरेका स्वेच्छाचारिताको पर्दाफास गरेपछि ओली थप रक्षात्मक बनेका छन् ।

पार्टी सचिवालयका सदस्य रामबहादुर थापा, इश्वर पोखरेल लगायतका नेतालाई प्रचण्डले मन्त्रीबाट हटाउन प्रस्ताव गरेको र आफुले अटेर गर्दा कुरा नमिलेको जस्ता अफवाहको सहारा लिएर सचिवालयमा आफ्नो पक्षमा नेताहरुलाई टिकाईराख्ने रणनीति लिएका ओलीको त्यो रणनीतिले पनि काम नगर्ने देखेपछि उनी अहिले आफ्नो टिकाउका लागि के गर्दा हुन्छ भन्ने जुक्तिको खोजीमा लागेका हुन् ।

त्यही क्रममा उनले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई पार्टी सचिवालय बैठक सकेपछि बालुवाटारमै रोकेर आफुलाई सहयोग गर्न अनुनय गरेका छन् । महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापालाई पनि सँगै राखेर उनले नेपाल गौतमसँग आफुलाई सहयोग गर्न आग्रह गरेका हुन् । उनले सचिवालय बैठकमा पेश भएका विषय सचिवालयबाटै छलफल गरेर निचोडमा पुग्नुपर्ने भन्दै विवादलाई स्थायी समिति बैठकमा जानबाट रोक्नुपर्ने धारणा राखेका हुन् । 

‘मलाई सहयोग गर्नुस, पार्टीलाई यही तालमा छोडनुहन्न, मैले के गर्नुपर्छ भन्नुहोस, कँहा के गर्दा उपयुक्त हुन्छ, सुझाव दिनुस म गर्न तयार छु,’ ओलीले नेपाल र गौतमसहितका नेतालाई राखेर भनेको भनाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने,– स्थायी समिति भन्ने हुदैन । सचिवालयको कुरा सचिवालयमै टुंग्याउनु पर्छ । मैले के गर्नुपर्छ ? कसलाई के दिनुपर्छ ? म तयार छु । तर पार्टी विवादलाई यसरी नै छोडनु हुन्न ।’ प्रधानमन्त्रीको तर्कमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य इश्वर पोखरेलले साथ दिएका थिए ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा भने केही नबोली चुपचाप बसेका थिए । वरिष्ठ नेता माधव नेपालले भने । कमिटिमा आएको विषय कमिटिमै छलफल गरेर टुंग्याउनु पर्ने धारणा राखेको ति सचिवालय सदस्यले बताए । ‘विषयहरु सचिवालय बैठकमा आएको छ, त्यही छलफल गरौं, स्थायी समितिमा लैजानुपर्ने हो या सचिवालयबाटै टुंगिने हो, त्यही कमिटिमा नै छलफल गरौं । विधि र प्रक्रिया अनुसार अगाडी जाऔं’, नेपालले ओलीसँग भनेका थिए । उपाध्यक्ष गौतम भने प्रधानमन्त्री ओलीको कुरा सुनेर केही समय पछि नै बाहिरिएका थिए ।

आफुलाई सहयोग गर्न गरेको याचनामा वरिष्ठ नेता नेपालले पार्टी कमिटिमै छलफल गर्ने भनिदिएपछि ओलीको नेपाल फकाउने अर्काे प्रयास फेरि पनि असफल भएको छ । गौतमले पनि पूरा समय ओलीले रोकेको छलफलमा नबसेपछि गौतमले पनि ओलीलाई प्रष्टै रुपमा साथ नदिने देखिएको छ ।   गौतम र नेपालले साथ नदिने देखेपछि ओली पक्षले आफु निकट नेताहरुको साँझ बालुवाटारमा गुट भेला गरेको छ । त्यो भेलामा नेताहरुले प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव प्रचण्डको मात्र नभई सचिवालयका ५ नेताकै सामुहिक प्रस्ताव भएको निश्र्कष निकालेको स्रोतले बताएको छ ।

यो अवस्थामा अब आफुहरुको तर्फबाट पनि कडा प्रतिवाद गर्नुपर्ने नेताहरुले ओलीलाई सुझाएका थिए । तर ओलीले आफुले कडा कदम चालेर भएपनि प्रचण्डको प्रस्तावको सामना गर्ने र त्यही अनुसारको कदम चाल्ने बताएका थिए । ओलीले कडा कदम चाल्ने भनी दिएको अभिब्यक्तीमा के हो ? भन्ने बारेमा भने केही नखुलाएको छलफलमा सहभागी ओली पक्षका एक स्थायी समिति सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस