सचिवालय बैठक बोलाएका प्रचण्ड एकाएक बालुवाटारमा

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०७७, १५ : ४३
सचिवालय बैठक बोलाएका प्रचण्ड एकाएक बालुवाटारमा

फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टीको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बस्ने कि नबस्ने भन्ने एजेण्डामा छलफल गर्न उनी  बालुवाटार पुगेका हुन् ।

पार्टीका सवै विवादित विषयमा दुई अध्यक्षबीच छलफल गरेर सहमति खोज्न तयार देखिएका प्रधानमन्त्री ओली पार्टी सचिवालय वा स्थायी कमिटीको बैठक बस्न भने सहमत भएका छैनन् । अध्यक्ष प्रचण्डले भने पार्टीमा पछिल्लो चरणमा देखिएका सवै विवादहरु सचिवालयमा छलफल गरेर सहमति खोज्नका लागि बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् ।  

अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले प्रधानमन्त्री समक्ष सचिवालय बैठक सोमबारभित्र बोलाउन लिखित प्रस्ताव गरेपनि प्रधानमन्त्रीले वास्ता नगरेपछि कार्यकारी अध्यक्षको हैसियतले प्रचण्डले नै बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँगको छलफल सकेपछि अपरान्ह ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । अध्यक्ष ओलीले बैठकबारे ठोस सहमति नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको ३ दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बैठक बोलाएको एक सचिवालय सदस्यले जानकारी दिए ।

यसअघि आजै अध्यक्ष ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल प्रचण्ड निवास पुगेका थिए। पोखरेलसँग प्रचण्डको भेटवार्ता भएको केही समयमै दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस