ओली आफ्नो कुबाटोमा ढृढ छन्, अरु उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ? : भट्टराई

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, ११ : ०२
ओली आफ्नो कुबाटोमा ढृढ छन्, अरु उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ? : भट्टराई

फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुबाटोमा लागेको बताएका छन् । 

सत्ताधारी दल नेकपाभित्रको आन्तरिक विवादका बारेमा सामाजिक सन्जाल ट्वीटरबाट मुख खोल्दै उनले कम्युनिष्ट पार्टी धरासायी हुनुको एउटा प्रमुख कारण पार्टी मूल नेतृत्वले रंग बदलिसकेपछि बाँकी नेता कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको टिप्पणी पनि गरेका छन् ।

उनले ओली आफ्नो कुबाटोमा ढृढ रहेको र अरुले अब उनको सती जाने या बेलैमा नयाँ समाजवादी बाटो बनाउने भन्ने मात्र बाँकी रहेको बताएका छन् । उनले समाजिक सन्जालमा लेखेका छन्, ‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी÷नेतृत्वले रंग फेरिसकेपछि पनि वाँकी नेता÷कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली÷माओवादीले कति छिटो बिर्सेका ? ओली आफ्नो कुबाटोमा ढृढ छन, अरु उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?’

नेकपामा दुई अध्यक्षको विवादमा प्रधानमन्त्री समेत रहेका ओलीले केही दिन यता प्रचण्डलाई अब सल्लाहमै पार्टी विभाजन गरौं, अलगअलग भएर जाऔं भन्ने प्रस्ताव राखिरहेका छन् । सत्ता र शक्तिको आडमा ओलीले अहिले आफ्नो स्वेच्छाचारिता लाद्न खोजेपछि उनको त्यस्तो कदमका विरुद्धमा बहुमत पार्टी नेता एकढिक्का भएर प्रतिरोध गर्न थालेपछि ओलीले अलग भएर जाने प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष स्वयंले त्यस्तो प्रस्ताव गरेपछि नेकपाका नेताहरु पार्टी विभाजन हुन्छ कि भन्ने चिन्तामा देखिएका छन् । यस्तो बेला भट्टराईले पनि ओलीबाट अब केही नहुने भन्दै विद्रोह गर्न र बेलैमा नयाँ समाजवादी बाटो हिँड्न आग्रह गदै नेकपाभित्रको विवादमा मुख खोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस