शपथ ग्रहण कार्यक्रममा झडप हुँदा चौरसियाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १४ : ०४
शपथ ग्रहण कार्यक्रममा झडप हुँदा चौरसियाको मृत्यु

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच बिहीबार झडप हुँदा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको शुक्रबार मृत्यु भएको छ ।

नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ । बिहीबार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी गम्भीर घाइते भएका थिए ।

झडपमा सक्रिय एक पक्षका दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्का पक्षका घाइतेहरुको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचाररत भइरहेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

नेकपा पर्साका नेताहरुबीच आन्तरिक विवादका कारण केहि साता यता अलगअलग सपथ ग्रहण कार्यक्रम हुँदै आएको थियो । एक पक्षले विन्दवासनी गाउँपालिका ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथ ग्रहण आयोजना गरेको थियो । अर्को गुटका कार्यकर्ताले कार्यक्रम सहभागी हुन नपाउदा असन्तुष्ट जनाउँदै विरोध गरेपछि झडप भएको थियो ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ ।

शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस