कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०८२, १३ : ४६
कर्फ्यूबीच सिमरा बजारमा प्रदर्शन र झडप

सिमरा । एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई छेक्न सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन-जी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेन–जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । जेन-जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि, सडकमा प्रदर्शन जारी छ । सिमराको स्थिति प्रहरीको नियन्त्रणमै रहने र सुरक्षा व्यवस्था मिलाइएको बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।

सरकारी र निजी सम्पत्तिमा सम्भावित क्षति हुनसक्ने भन्दै स्थिति थप बिग्रन नदिन बारा प्रशासनले राजमार्ग आसपास र विमानस्थल क्षेत्रमा अहिले साढे १२ बजेदेखि कर्फ्यू लगाएको छ । एयरपोर्ट पनि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस