प्रधानमन्त्री ओलीको रणनीति : प्रचण्ड र नेपाल समुहलाई मिल्नै नदिने, फेरी लत्याए सबै सहमती

बालुवाटारमा प्रचण्डसँग कुरा नमिलेपछि माधव नेपाल बोलाएर ओलीले भने, आउनुहोस मिलेर जाऔं, खुमलटार भन्दा बालुवाटार धाउने गर्नुस्

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १० : ००
प्रधानमन्त्री ओलीको रणनीति : प्रचण्ड र नेपाल समुहलाई मिल्नै नदिने,  फेरी लत्याए सबै सहमती

काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टी भित्रका नेताहरुकै बीचमा फेरि फुटाउ र राज गरको रणनीतिमा उत्रन थालेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग आन्तरिक विवाद फेरि बल्झिन थालेपछि उनले त्यस्तो रणनीति अवलम्बन गर्न खोजेका हुन् । स्थायी समिति बैठकले लामो विवाद हल गर्दै अब सरकार र पार्टीका कामलाई संस्थागत गर्दै जाने, सचिवालयमा छलफल गर्ने, दुई अध्यक्षका बीचमा परामर्श गर्ने र सहमतिमा सरकार र पार्टीका महत्वपूर्ण निर्णयहरु कार्यान्वयन गरेर जाने समझदारी सहित विवाद हल गरिएको थियो ।

तर ओलीले सहमतिको एक साता नबित्दै महत्वपूर्ण राजनीतिक नियुक्तिमा एकलौटी देखाए । क्याबिनेट पूर्नगठनमा कुनै मापदण्ड बिनै रिक्त रहेका मन्त्रालयमा मात्र आफु निकट तिन जना मन्त्रीलाई मात्र नियुक्त गरे । त्यक्तिमात्र होइन, प्रचण्डलाई कमजोर देखाउन उनी निकट नेताहरुलाई आश्वासनका पुलिन्दा बाँडेर आफुतिर तान्ने, पूर्व माओवादी धारका नेताहरुले मुख्यमन्त्री सम्हालेको प्रदेशमा आफु निकट नेताहरुलाई नै धाप लगाउदै अविश्वास प्रस्ताव हाल्ने सम्मका रणनीतिमा प्रधानमन्त्री ओली यो एक महिनाको बीचमा लागि परे ।

यसबाट दुई अध्यक्षका बीचमा अविश्वास झन चुलिदो गतिमा गयो भने ओलीको कार्यशैलीका विषयमा पूनः पार्टीभित्रका शीर्ष नेताहरु एकगठ हुदै जान थाले । त्यही क्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु फेरि एकजुट हुन थाले । ओलीको कर्णाली प्रदेशको मुख्यमन्त्री फाल्ने र पूर्व एमालेलाई एक बनाउने रणनीति कर्णालीमा प्रचण्ड र माधव नेपाल समुह मिलेर निस्तेज पारिदिए । 

त्यसबाट हच्चिकएका प्रधानमन्त्री ओलीले अहिले फेरि पार्टीभित्रकै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहलाई मिल्नै नदिने रणनीति अख्तियार गर्न खोजेको छ । त्यसैको कडी हो – मंगलबार भएका दुई परिघटना ।

मंगलबार ओलीले बिहान साढे ९ देखि करिव ५५ मिनेट जति मात्र अध्यक्ष प्रचण्डसँग बालुवाटारका कुराकानी गरेका थिए । उक्त कुराकानीका क्रममा कर्णाली प्रदेशको आन्तरिक विवाद मिलाउने विषयमा दुई अध्यक्षका बीचमा छलफल भएको थियो । ओलीले विवादमा केन्द्रले हस्तक्षेप गर्नुपर्ने र आफु निकट नेताहरुलाई संरक्षण गर्ने गरी प्रस्ताव प्रचण्डसँग राखेका थिए । प्रदेशका सरकारलाई केन्द्रकै प्रशासनिक इकाई भन्दै संघीयता विरोधी अभिब्यक्ति दिएका ओलीको त्यस्तो प्रस्तावमा प्रचण्ड सहमत देखिएनन् ।

त्यहाँको विवादमा प्रचण्डले स्थानिय पार्टी कमिटिलाई (प्रदेश कमिटि)लाई नै विवाद हल गर्ने जिम्मेवारी दिने प्रस्ताव गरे । संघीयताको मर्म अनुसार अधिकार प्रदेश कमिटिलाई नै दिनुपर्ने प्रचण्डको प्रस्ताव थियो । दुई अध्यक्षका बीचमा मुख्यमन्त्री विरुद्दको अविश्वास प्रस्ताव फिर्ता लिने विषयमा समझदारी भएपनि त्यस अगाडीको विवाद समाधानको प्रक्रिया के हुने भन्नेमा मतभेद कायमै थियो । प्रचण्ड त्यहाँको विवादमा वरिष्ठ नेता माधव नेपाल समुहसँगको छलफलका आधारमा अगाडी बढ्न चाहान्थे । ओली दुई नेताको बीचको समझदारी भत्काउने र अविश्वास सिर्जना गराउने रणनीतिमा लागेका थिए ।

त्यही क्रममा प्रचण्डसँग कुरा नमिलेपछि ओलीले वरिष्ठ नेता माधव नेपाललाई टेलिफोन गरे । उनले भने, –‘तपाई (माधव) त बालुवाटार आउनै छोडनुभयो, आउनुहोस छलफल गरौं, मिलेर जानुपर्छ ।’ त्यसपछि ओलीले हिजै मंगलबार वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाए । नेपाल पनि ओलीले बालुवाटार बोलाएपछि साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरे । दुई नेताका बीचमा झण्डै अढाई घण्टा (साढे २ घण्टा ) छलफल भयो । ओलीले नेपालसँग भने,–‘तपाई हामी मिलेर जानुपर्छ । तपाई बालुवाटार आउनै छोड्नुभयो । खुमलटार धाएर हुदैन, यतै आउनुहोस, छलफल गरौं, सहकार्य गरौं ।’

दुई दिन यता वरिष्ठ नेता माधव नेपाल प्रचण्डको निवास खुमलटार गईरहेको सूचना पाएका ओलीले नेपाललाई फकाउने र प्रचण्ड र नेपाल बीचको समिकरण हुन नदिने रणनीति अन्र्तगत त्यस्तो प्रस्ताव गरेका थिए । विषयान्तर हुदै एक पछि अर्काे इस्युमा छलफल गरेका ओली र नेपाल बीचको छलफल सकारात्मक बन्न सकेन । नेपालले ओलीलाई सिधै भनिदिए, –मिलेर जाने त जाने, कसरी जाने ? तपाईको प्रस्ताव के हो ? झण्डै ७९ दिन लगाएर चलेको विवाद भदौं २६ मा तपाई अनुकुल हुने गरी समाधान गर्न लचकता देखायौं, फेरि तपाई पूरानै शैलीमा हिड्न थाल्नुभयो, शैली उही, ढंग उही छ तपाईको अनि कसरी मिल्ने ? भन्ने एउटा गर्ने अर्काे नीति मात्र देखिएको छ । अहिले पनि त्यही शैली दोहोरियो, समस्या पार्टीमा तपाईबाटै देखा परेका छन्, विधि पद्धती तपाईलाई मतलब छैन, अनि कसरी मिल्ने ? मिल्ने विधि के हो ?’

नेपालले एकोहोरो ओलीको मिल्ने प्रस्तावमा समस्या ओलीले नै खडा गरेकोले मिल्ने ओलीको प्रस्ताव के हुने ? आउनुपर्ने बताएपछि ओली नेपाल सम्वाद पनि सकारात्मक हुन सकेन् । त्यसपछि नेपाल पौने ३ बजे तिर बालुवाटारबाट बाहिर निस्किए । नेपालसँग पनि कुरा नमिलेपछि ओलीले अर्काे रणनीति अवलम्वन गरे । वरिष्ठ नेता नेपालले ओली र प्रचण्ड दुवैलाई शंकाको लाभले हेर्ने नीति लिएको तर सहकार्य ओली कार्यशैलीका विरुद्ध प्रचण्डसँग गरेर जाने रणनीति लिएको प्रधानमन्त्री ओलीलाई जानकारी थियो ।

प्रचण्ड र नेपाल बीच फेरि हुन खोजेको सहकार्य भत्काउन उनले प्रचण्ड विरुद्ध माधव नेपालको अविश्वास सिर्जना गर्ने दोश्रो स्टेप अगाडी सारे । त्यो हो कर्णाली विवादमा सहमति जुटेको र ४ बँुदे समझदारी बनेको । कर्णालीमा अविश्वास प्रस्ताव हालेका आफु निकट नेता यमलाल कँडेलले नै विवाद समाधानका लागि राखेको शर्तलाई ४ बुँदे समझदारी भित्र राखेर ओलीले आफना प्रेस सल्लाहकार सूर्य थापालाई दुई अध्यक्षका बीचमा ४ बुदे समझदारी बनेको विषय प्रेस नोटका रुपमा सार्वजनिक गर्न लगाए । त्यसपछि सूर्य थापाले प्रेस नोट जारी गरे । 

जँहा यमलाल कँडेलले राखेका सबै शर्तहरु समेटिएका थिए । प्रचण्ड र नेपाल बीच स्थानिय तहमा भएका समझदारी भत्काएर प्रचण्डले ओलीसँग सहकार्य गरेको सन्देश जाने गरी उक्त प्रेस नोट बालुवाटारबाट बाहिरिएको थियो । लगतै प्रचण्डको सचिवालयले पनि समझदारी नबनेको भनी अर्काे प्रेस नोट जारी भयो । यसले नेकपाभित्रको कलह नयाँ ढंगले अगाडी बढेको देखाएको छ ।

ओली प्रचण्डलाई झकाएर आफनो निर्णयमा खुरुखुरु लाहछाप लगाउने गरी अगाडी बढाउन चाहन्छन् । प्रचण्डले ओलीको त्यस्तो चाहनामा साथ नदिए प्रचण्ड र नेपालबीच अविश्वास पैदा गराउने फन्डा फालिरहने र पार्टी नेताहरुलाई नै फुटाउने र आफनो सत्ता लम्ब्याउने रणनीतिमा ओली लागेको मंगलबारको घटनाले फेरि पुष्टि गर्न थालेको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।