स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, १६ : ०२
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघको संयुक्त प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर स्थानीय सरकार सञ्चालनका विविध पक्षमा ११ बुँदामा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानासहित आइतबार मन्त्रालयमा पुगेको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री खनालले स्थानीय सरकारले उठाएका सवालप्रति नेपाल सरकार गम्भीर रहेको र उठाइएका मागलाई कार्यान्वयनमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

महासंघ र संघले बुझाएको ध्यानाकर्षण पत्रमा अर्थ मन्त्रालयले असोज ७ गते जारी गरेको मितव्ययितासम्बन्धी विज्ञप्तिको स्वागत गर्दै तीन तहका सरकारले प्राथमिकता पुनः निर्धारण र खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा सहमति जनाइएको उल्लेख छ ।

त्यस्तै, अन्तरिम सरकारको प्रमुख दायित्व निर्वाचन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्न स्थानीय सरकार पूर्ण रूपमा सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस