दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, ०९ : ०१
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने

काठमाडौं । नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने माग सहित अभियान चलाईरहेका विवादास्पद मेडिकल ब्यापारी दुर्गा प्रसाईंलाई सरकारले वार्तामा बोलाएको छ । 

शनिबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकपछि सरकारले दुई खाले रणनीति बनाउने र पहिलो चरणमा प्रसाईं लगायतसँग आन्दोलनमा उत्रन खोजेका शक्ति र ब्यक्तिहरुसँग वार्ता गर्ने रणनीति बनाएको हो । 

प्रसाईंले छठ लगत्तै काठमाडौंमा प्रर्दशन गर्ने घोषणा गरेका थिए । देशभरबाट भाडामा मान्छेहरु काठमाडौंमा उतारेर इनडाइभ मोटरसाइकलवालाई समेत परिचालन गर्ने र केही निकट युट्यव च्यानल प्रयोग गरेर आन्दोलन गर्ने र त्यसभित्र घुसपैठ गरेर अराजकता मच्चाउन सक्ने विश्लेषण सहित प्रसाईंलाई सरकारले वार्तामा बोलाएको हो ।

पहिलो चरणमा उनीसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वरराज पौडेलले वार्ता गर्नेछन् । सोही अनुसारो तयारी गर्न सुरक्षा परिषद्को बैठक लगत्तै सिडिओ पौडेललाई गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिईसकेका छन् । 

‘पहिलो चरणमा प्रसाईंसँग काठमाडौं सिडिओले वार्ता गर्नेछन्, त्यसपछि आवश्यक परेमा हामीहरु समेत संग्लन्न भएर वार्ता गछौं,’ गृहमन्त्री अर्यालले भनेका छन् । 
प्रसाईंले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौँका मेयर बालेन्द्र शाह र जेनजी आन्दोलनपछि उक्त आन्दोलनको नेता भन्दै निस्किएका सुधन गुरुङ लगायतका विरुद्ध उत्तेजक अभिव्यक्ति दिँदै आएका छन् । 

प्रसाईंले आफु निकटका विभिन्न युट्युव च्यानलसँगको अन्तर्वार्तामा हजारौं मानिसहरू सडकमा निस्कने र प्रमुख राजमार्गहरू अवरुद्ध गर्ने दाबी गदैं आएका छन् । त्यसपछि शनिबार सुरक्षा परिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बसेको हो । 

गत चैत १५ मा काठमाडौंको तिनकुनेमा पनि प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा एक पत्रकारसहित दुई जनाको निधन भएको थियो । सुरक्षा परिषद्को बैठकमा गत १५ चैतमा काठमाडौंको तीनकुनेमा प्रसाईंकै नेतृत्वको आन्दोलनले उग्र रुप लिएको स्मरण गराउँदै यसपटक पनि भाडाका मान्छे ल्याएर माहोल बिगार्ने काम हुनसक्ने भन्दै सुरक्षा निकायका प्रमुखहरूले सरकारलाई सचेत गराएपछि सरकारले वार्ता र सुरक्षा ब्यवस्थापन दुवै रणनीतिमा काम गर्ने गरी निर्णय लिएको जनाएको छ ।

शनिबारको छलफल करिब दुई घण्टासम्म चलेको थियो । उक्त छलफलमा सुरक्षा निकायका प्रमुखहरूले अहिलेसम्म संकलन गरेका विवरण र वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण सुनाएका थिए ।

‘सकेसम्म सम्झाउने नै हो । संवादबाटै अघि बढ्नु नै पर्छ, त्यसो हुँदा पनि नमानी यदी आन्दोलन गराएरै छाड्ने र हिंसात्मक बन्ने अवस्था आयो भने एकदमै कडा भएर प्रस्तुत हुनेतर्फ तयारी गर्ने गरी दुई खाले रणनीति बनाउन आवश्यक छ,’ सुरक्षा प्रमुखहरुले सरकारलाई सुझाव दिएका थिए । 

त्यसपछि राष्ट्रिय अनुसन्धानका अधिकारीहरुलाई ब्यापक परिचालन गर्ने र प्रसाईंलाई काठमाडौं सिडिओमार्फत वार्तामा बोलाउने रणनीतिमा सरकार अगाडी बढेको हो ।