दृष्टिविहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०८२, १९ : ४४
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

काठमाडौँ । भारत र श्रीलंकामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले सहभागिता जनाउने भएको छ । 

दृष्टिविहीन क्रिकेटको इतिहासमै पहिलो पटक महिला विश्वकप आयोजना हुन लागेको नेपाल दृष्टिविहीन क्रिकेट संघले जनाएको छ । संघका अनुसार पहिलो संस्करणको उक्त च्याम्पियनसिप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्डको सहभागिता रहनेछ । 

आज सार्वजनिक गरेको खेल तालिकामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । उक्त खेल नोभेम्बर १२ तारिखमा हुनेछ । त्यसपछि नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्नेछ । 

नेपाली टोलीले नोभेम्बर १५ तारिखमा इङ्ल्याण्ड र नोभेम्बर १६ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । यी सबै खेल भारतमा नै हुनेछ । त्यसपछि नेपाली टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर २३ मा श्रीलंकाको कोलम्बोमा हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस