काठमाडौं । प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् । तीन वर्ष आफैंले स्वास्थ्य सचिवका रुपमा काम सम्हालेको र तत्कालिन विभागिय मन्त्रीसँग कुरा नमिल्दा राजीनामा दिएर बाहिरिएकी डा शर्मा अहिले आफैं उक्त मन्त्रालयको जिम्मा लिएर पुगेकी छिन् ।
उनी नेपालको प्रशासनिक क्षेत्रमा चिनिएका लक्ष्मीनाथ गौतमकी छोरी हुन् । उनको बुवा लक्ष्मीनाथ पनि नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव,त्यसमा पनि गृहसचिव र नेपाल राष्ट्र बैंकको गर्भनर सम्म भएका थिए ।
उनकै सात छोरी मध्येकी कान्छी छोरी हुन् डा सुधा । उनले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन् ।
जनप्रशासन, लैंगिक मूलप्रवाहीकरण र समाजशास्त्रका लागि समेत केन्द्रीत रहेर उनले सिंहदरवारको घुम्ने मेच नामक पुस्तक समेत आफनो जीवन भोगाईमा आधारित रहेर लेखेकी थिइन ।
एसएलसी पछि विज्ञान विषयमा अध्ययन गरेकी उनले आइएस्सी सकेपछि राँचीको राजेन्द्र मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेकी थिइन् । सोहि कलेजबाट चिकित्सक भएर उनी नेपाल फर्केकी थिइन् । सोहि कलेज अध्ययन गर्दा डा विजय शर्मासँग उनको विवाह भएको थियो । विवाहपश्चात् नेपालको उच्च राजनीतिक घरानियाँसँग समेत उनको सम्वन्ध थियो ।
भरतपुर अस्पताल, कोशी अस्पताल, परोपकार प्रसूति गृहमा काम गरेकी उनले बेलायतमा मास्टर इन पब्लिक हेल्थमा समेत अध्ययन गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था, युएनएफपिए,नेपाल सोसाइटी अफ अब्स्टेटिसियन एन्ड गाइनोकोलोजिस्ट ९नेसोग० को अध्यक्षसहितको विभिन्न तह र नेपाल चिकित्सक सङ्घको अध्यक्षको नेतृत्व समेत सम्हालेको अनुभव उनीसँग छ ।
विसं २०६२÷०६३ सालको जनआन्दोलनमा नेपाल चिकित्सक सङ्घको अध्यक्षको हैसियतमा पेशागत संगठन पापडको रुपमा उनी सक्रिय थिइन् ।
सरकारको एकजना सचिव, त्यसमा पनि महिला हुँदा राजनीतिक नेतृत्वबाट पाएको प्रताडनालाई उनले सिंहदरवारको घुम्ने मेच नामक पुस्तक लेखेर उतारेकी छिन् ।
चिकित्सा विज्ञानको विद्यार्थी,देश तथा विदेशको अध्ययन तथा अनुभव,आँठौं तहबाट खुला प्रतियोगिता मार्फत एघारौं तहमा भएका बढुवा, लामो समय एघारौं तहमा काम गरेको अनुभव, नेपाल चिकित्सक सङ्घको नेतृत्व गरिसकेको अनुभव उनीसँग छ ।
विभागीय मन्त्रीले आफैँले अह्राएको कामको जोखिम लिएर निर्णय गर्न नचाहने तर कर्मचारीलाई बाध्य गराउने तत्कालिन स्वास्थ्य मन्त्रीको शैली चित्तबुझ्दो नभएपछि उनले राजीनामा दिएको बताएकी थिइन् ।
स्वास्थ्य मन्त्रालयको सचिव हुँदा अपस्ताल विकास समिति राजनीतिक भर्ती केन्द्र भएको उनको टिप्पणी थियो । अस्पताल विकास समितिहरू र समुदायमा रह्का साना स्वास्थ्य संस्थाका सहयोग समितिहरू राजनीतिक भर्ती केन्द्रका रूपमा विकसित भएको, मेडिकल,नर्सिङ र हेल्थ प्रोफेसनल काउन्सिलमा पनि अनियमितता हुने गरेको, कलेजहरू सञ्चालन गर्न अनुमति दिने,तिनले मापदण्ड पूरा गरे नगरेको आधारमा भर्ना संख्या निर्धारण गर्ने आदि प्रव्रिmयामा करोडौंको चलखेल हुने गरेको जस्ता विषय उनले उठाउँदै आएकी थिइन् । अहिले अव उनी त्यही आफैंले लगाँउदै आएको आरोप समाधान गर्ने मन्त्रालयको नेतृत्वमा पुगेकी छिन् ।
नेपाल सरकारको विशिष्ट श्रेणीको पदबाट राजीनामा दिएपछि उनी तान्जानियामा युनिसेफको स्वास्थ्य तथा पोषण विभाग प्रमुख भएर काम गर्न पुगेकी थिइन् । त्यसबेला उनलाई आर्कषक तलवको लोभमा त्यसतर्फ गएको आरोप भने लागेको थियो ।
अहिले कार्की नेतृत्वको सरकारले उनलाई नै स्वास्थ्य मन्त्री बनाइएको छ । यस अगाडी स्वास्थ्य सचिव नै भएकी डा संगीता मिश्रालाई मन्त्री बनाउन लाग्दा विवादमा आएपछि कार्कीले स्वास्थ्यमा डा सुधा शर्मा गौतमलाई रोजेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ कार्तिक २०८२, १५ : ४७
लेखकबाट थप