प्रचण्डसंग नवनियुक्त मन्त्रीहरुले किन गरे भेटघाट ?

सफल खबर संवाददाता

सोमबार, ०३ कार्तिक २०७७, ०९ : ३५
प्रचण्डसंग नवनियुक्त मन्त्रीहरुले किन गरे भेटघाट ?

काठमाडौं । सरकार पूर्नगठनको प्रक्रियासँगै नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरु असन्तुष्ट छन् । प्रधानमन्त्री केपी ओलीले २६ भदौंमा सकिएको स्थायी समिति बैठकको एजेण्डा र स्पिरिट विपरित मन्त्रिमण्डल विस्तार तथा पूर्नगठन गरेको बुझाईमा प्रचण्ड र नेपाल छन्  ।

ओलीले महासचिव विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रुपमा गत बुधबार नियुक्त गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री इश्वर पोखरेललाई रक्षाबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पार्वत गुरुङ लाई महिला बालबालिकाबाट झिकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी ओलीले तोकेका छन् ।

तर स्थायी समितिको म्यान्डेट भनेको सचिवालयमा छलफल गर्ने, दुई अध्यक्षको परामर्श गर्ने र सहमतिका आधारमा केन्द्र देखि प्रदेश सम्मको मन्त्रिमण्डल पूर्नगठन गर्ने, राजनीतिक नियुक्तिहरु पनि सोही अनुसार नै गर्ने भन्ने थियो । तर ओलीले राजदुत नियुक्तिमा सहमति खोजेनन् । महासचिव विष्णु पौडेललाई मन्त्री बनाउने विषयमा दुई अध्यक्षका बीचमा प्रारम्भिक छलफल भएपनि ओलीले अहिले गरे जसरी मन्त्रीमण्डल पूर्नगठनमा कुनै सहमति बनाएका थिएनन् ।

प्रचण्ड र नेपाल असन्तुष्ट रहेबाट नै नेकपाभित्र विवाद नयाँ किचलोका साथ अगाडी बढेको देखिएको छ । त्यसमाथी कर्णाली प्रदेशको मुख्यमन्त्री विरुद्द ओली पक्षका यमलाल कँडेलको अगुवाईमा भएको अविश्वास प्रस्ताव दर्ताले थप विवाद जन्माएकै छ । पार्टीभित्र विवाद बल्झिरहेका वेला नवनियुक्त मन्त्रीहरुले भने आइतबार नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । नवनियुक्त तिनै जना मन्त्रीहरुले प्रचण्ड निवास खुमलटार पुगेर आइतबार छुट्टाछुट्टै भेट गरेका हुन् । शुरुमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ प्रचण्ड निवास पुगेका थिए ।

प्रचण्डको सचिवालयले भने नवनियुक्त मन्त्रीहरुले पार्टी अध्यक्षलाई शिष्टाचार भेट गर्न खुमलटार आएको बताएको छ । शुरुमा महिला मन्त्रीले प्रचण्डसँग भेट गरेपछि महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डसँग भेट गरेका थिए । पौडेलले भेट गरेर फर्केपछि शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ प्रचण्ड निवास पुगेका थिए ।

बिहान देखि क्रमशः नवनियुक्त मन्त्रीहरुले लगातार छुट्टाछुट्टै प्रचण्डलाई भेट गरेर शुभकामना ग्रहण गरेका थिए । यो परम्परा यस अगाडी पनि थियो । पार्टीका मन्त्रीहरु नियुक्त भएपछि अध्यक्ष प्रचण्डसँग शुभकामना लिन जाने चलन यो अगाडी पनि थियो । त्यही क्रममा तिनै मन्त्रीहरु एकपछि अर्काे गर्दै प्रचण्ड निवासमा प्रचण्ड भेट्न पुगेका थिए ।
 

प्रतिक्रिया दिनुहोस