भरतपुर महानगरपालिकामा विकासको लहर चलेको छ : मेयर रेनु दाहाल

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १६ : ०२
भरतपुर महानगरपालिकामा विकासको लहर चलेको छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा विकासको लहर चलेको बताएकी छिन् । आइतबार भरतपुर महानगरपालिका ६ मा कालोपत्रे गरिएको उमेश मार्गको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।

“स्थानीय निर्वाचन पछि भरतपुर महानगरपालिकामा विकासको लहर चलेको छ । समानुपातिक र सन्तुलित विकासमा हामी केन्द्रित छौँ” प्रमुख दाहालले भनिन्, “म भरतपुरमा भएको विकास प्रति पूर्ण सन्तुष्ट छु ।” भरतपुर महानगरमा सन्तुलित, समानुपातिक र चौतर्फी विकासलाई निरन्तरता दिइएको मेयर दाहालको भनाइ छ ।

नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) जिल्ला अध्यक्ष यमबहादुर परियारले सहिदको सपनासंग जोडिएको सडक निर्माण हुदाँ यहाँका हरेक नागरिकको चाहना सम्बोधन भएको बताए । जनयुद्दमा शहदत प्राप्त उमेश बोहोरा “हुरी” को स्मृतिमा सडकको नामकरण गरिएको हो । सडकको निर्माण सुदेश्ना निर्माण कम्पनीले निमार्ण गरेको हो ।

पाण्डे घुम्ती देखि चोकबजार र पारिजात मार्गका साथै आकृति मार्ग जोड्ने शहिद उमेश मार्ग सडक महत्वपूर्ण सडक हो । १ किलोमिटर २ सय १५ मिटर लम्बाई रहेको सडक चितवन क्षेत्र न ३ का प्रतिनिधि सभा सांसद पुष्प कमल दाहाल प्रचण्ड द्वारा केन्द्र सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ४० लाख, भरतपुर महानगरको पुरक बजेट मार्फत ४० लाख र स्थानीयको १७ लाख ८ हजार ३ सय ६९ रुपैया गरि ९७ लाख ८ हजार ३ सय ६९ कुल लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस