काठमाडौँ । टीकापुर घटनाका मुख्य योजनाकार मानिएका कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरी संविधान दिवसको अवसरमा समेत रिहा हुन सकेनन् ।
संविधान दिवसका अवसरमा सरकारले विभिन्न कैदीबन्दीको बाँकी कैद मिनाहा गर्दै रिहा गरेपनि त्यसभित्र सांसद चौधरी अटाउन सकेनन् । जनता समाजवादी पार्टीका नेता चौधरी संविधान दिवसको अवसरमा रिहा हुने धेरैले अड्कलबाजी गरेका थिए । सरकारल चौधरीलाई रिहा गर्न पहलकदमी पनि गरेको थियो, तर विभिन्न बाधा अड्काउहरु फुक्न सकेनन्, जसका कारण चौधरी रिहा हुन सकेनन् ।
जनता समाजवादी पार्टीमा सामेल भएको तत्कालीन राजपा नेपालले कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाइका लागि लामो समयदेखि माग गर्दै आएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरुले संविधान दिवसका अवसरमा चौधरी रिहा हुने आशा गरेका थिए । तर चौधरी रिहा हुन सकेनन् । असोज २ गते मन्त्रिपरिषद्को निर्णयअनुसार चौधरी रिहा भएनन् ।
चौधरी रिहाइको लागि प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्म पहल गरेको थियो । परिणामस्वरुप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चौधरी रिहाइको लागि कारागार विभागबाट रेशम चौधरीको फाइलसमेत मगाएको थियो । चौधरीलाई आममाफी दिन सकिन्छ कि सकिदैन भन्ने विषयमा गृहमन्त्रालयले अध्ययन गरेको थियो । अन्तिममा गृहमन्त्रालयले चौधरीलाई आममाफीका लागि योग्य नभएको ठहर गरेको थियो । मन्त्रिपरिषद्ले उनलाई आममाफीको सूचीमा राखेन । जसका कारण चौधरी रिहा हुन सकेनन् ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ तथा फौजदारी कसूर कैद कट्टा नियमावली, २०७६ अनुसार जन्मकैद सजाय भएका कैदीलाई आम माफी दिन मिल्दैन । त्यसमा पनि आममाफी पाउनका लागि ५० प्रतिशत कैद सजाय भोगिसकेको हुनुपर्छ । रेशम चौधरीको हकमा दुवैमध्ये कुनै पनि विकल्प भएनन्, जसका कारण विधि र नियमभन्दा माथि गएर चौधरीलाई रिहा गर्न सरकार अगाडि बढेन ।
घटनाको लामो समय फरार रहेका रेशम चौधरी २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा हाजिर भएका थिए । त्यसपछि पुर्पक्षका लागि उनलाई थुनामा गएका हुन् । जन्मकैद सजाय पाएका उनले पुरानो मुलुकी ऐन अनुसार २० वर्ष कैद भुक्तानी गर्नुपर्छ । चौधरी जेलमा रहेको बल्ल चार वर्ष भएको छ । आममाफी पाउनलाई कम्तीमा पनि आधा सजाय कटिसकेको हुनुपर्छ ।
कैलाली जिल्ला अदालतले चौधरीलाई २०७५ फागुन २२ गते मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ अनुसार जन्मकैदको फैसला तोकेको हो । आजभन्दा चार वर्षअघि कैलालीमा सात प्रहरी र अवोध बालकको हत्या हुनेगरी भएको हिंसाको योजनाकार रहेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैद सजाय तोकेका चौधरीलाई विशेष सुविधा प्रयोग गरेर रिहा गर्दा विवाद बढ्ने देखेर सरकार पछि हटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ असोज २०७७, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टी छोडेको घोषणा
रञ्जिताले बोलाएको बैठकमा रेशम पक्ष उपस्थित नहुने
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग