भरतपुर महानगर प्रमुख रेनु दाहालबाट ७५ शैयाको आइसोलेसन केन्द्रको उद्घाटन (फोटोफिचर)

सफल खबर संवाददाता

आइतबार, १४ भदौ २०७७, ११ : १४
भरतपुर महानगर प्रमुख रेनु दाहालबाट ७५ शैयाको आइसोलेसन केन्द्रको उद्घाटन (फोटोफिचर)

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका १ वागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालयमा निर्मित आइसोलेसन केन्द्रको उद्घाटन गरेकी छिन् ।

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बिरामीको संख्या वृद्धि हुन थालेपछि महानगरपालिकाको सक्रियतामा आइसोलेसन केन्द्र स्थापना गरिएको हो । 

भरतपुरका अस्पतालहरुमा दिनदिनै संक्रमित बिरामी वृद्धि भएपछि शैयाको अभाव हुन थालेको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ मा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा अलगै ७५ शैयाको आइसोलेसन सञ्चालनमा आएको छ । 

महानगर प्रमुख रेनु दाहालले तत्कालको लागि ७५ शैयाको आइसोलेसन स्थापना गरेपनि अवस्था हेरेर थप वृद्धि गर्ने जानकारी दिइन् । भरतपुर अस्पताल, निजी अस्पतालहरुमा पनि संक्रमित बिरामीहरु बढ्दै गएपछि अलगै राख्नको लागि व्यवस्थापन गरेको उनले बताइन् ।

भरतपुर अस्पताल सञ्चालक समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले कोरोना संक्रमित भएका तर लक्षण नदेखिएका बिरामीलाई मात्र प्राकृतिक चिकित्सालयमा राखिने बताए ।

 ‘लक्षण भएका र नभएका बिरामी एकै स्थानमा राख्दा थप समस्या आउन सक्ने भएकाले लक्षण नभएकालाई मात्र राखेर उपचार गरिने छ ’ डाक्टर अधिकारीले भने,  ‘पहिलो प्राथमिकता भरतपुर महानगरपालिका र त्यसपछि अन्य स्थानकालाई राखिने छ ।’

प्राकृतिक चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले यहाँ राखिने बिरामीलाई सन्तुलित खाना, योगा, प्राणायामसहित रोगसंग लड्ने क्षमता वृद्धि गराउने काम हुने जानकारी दिए । 

अलगै भवनमा बिरामी राखिने भएकाले यहाँ राखिएकालाई लक्षण देखिएमा भरतपुर अस्पतालमा लैजाने व्यवस्था रहेको छ ।

आइसोलेसनको लागि भरतपुर महानगरपालिकाले खर्चको व्यवस्थापन गरेको छ । यहाँ राखिने विरामीको रेखदेख प्रकृतिक चिकित्सालयले गर्नेछ । 

भरतपुर अस्पतालका चिकित्सकसहितको टोली रहेकाले उनीहरुको सिफारिसमा मात्र बिरामीलाई यस आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

उद्घाटन कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस