काठमाडौं । सत्तारुढ दल नेकपा देखि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको दल जनता समाजवादी सम्मले प्रदेश सरकार गठन, पूर्नगठनको तयारी थालेपछि मुख्यमन्त्रीहरु समेत डेन्जर जोनमा पर्न थालेका छन् । ७ मध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार छ भने प्रदेश २ मा जसपाको सरकार छ ।
नेकपाको कार्यदलले संघीय देखि प्रदेश सरकार सम्मको हेरफेर गरी प्रभावकारी सरकार सञ्चालनको लागि सुझाव दिएको छ । जसपाका पनि शीर्ष नेताहरु प्रदेश २ को पूरै सेट परिवर्तनको छलफलमा जुटेका छन् । यस्तो बेला सात मध्ये एउटै मात्र प्रदेशका मुख्यमन्त्री भने डेन्जरजोनमा देखिएका छैनन् । उनी हुन् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुड । उनी बाहेक ६ ओटै प्रदेशका मुख्यमन्त्री कुनै न कुनै रुपमा डेन्जर जोनमा देखिएका छन् ।
नेकपामा भने हेरफेरमा समेत पार्टीका मुख्य तीन नेता प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहका प्रतिनिधत्व हुने गरी भागबन्डा लगाउनु पर्ने देखिएको छ ।
कुन प्रदेशमा कस्तो अवस्था ?
पार्टी एकता नहुँदै तत्कालिन एमाले र माओवादीका बीचमा कर्णाली र सुदुरपश्चिम माओवादीलाई र प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ तत्कालिन एमालेले मुख्यमन्त्री लिने गरी भागवण्डा गरिएको थियो । तत्कालिन एमालेभित्र भने ओली पक्षले माधव नेपाल पक्षलाई पेलेर आफ्नो भागमा परेको चार वटामा कुनैमा पनि माधव नेपाल पक्षका नेतालाई ढिप्पकिन समेत दिएन् ।
अर्थात ४ मा ४ वटै प्रदेशको मुख्यमन्त्रीमा आफु निकट नेतालाई नै मुख्यमन्त्री बनाई छोड्यो । प्रदेश १ र वाग्मती प्रदेशमा संसदीय दलमा चुनाव नै गरेर भएपनि नेपाल पक्षका उम्मेदवारलाई हराएर संसदीय दलको नेता बनेर सरकारको नेतृत्व लियो भने गण्डकी र प्रदेश ५ मा सिनियर र चुनावकै वेला मुख्यमन्त्रीका रुपमा प्रचारित गरेकाले स्वतः मुख्यमन्त्री ओली पक्षले लिएको थियो ।
प्रदेश १ मा अहिले मुख्यमन्त्री छन्, शेरधन राई । जनजाति पृष्ठभूमिका मुख्यमन्त्री राई ओली निकट नेता हुन् । तर उनलाई आर्शीवाद राष्ट्रपति विद्यादेवी भण्डारीको पनि देखिन्छ । उनले तत्कालिन एमालेभित्रको संसदीय दलको चुनावमा माधव नेपाल र झलनाथ खनाल खेमाका पार्टी स्थायी समिति सदस्य भीम आचार्यलाई पराजित गरेर मुख्यमन्त्री बनेका हुन् । अहिले त्यहाँ सरकार फेरिदा मुख्यमन्त्रीमा भीम आचार्य नै प्रमुख दाबेदारका रुपमा देखा परेका छन् ।
वाग्मती प्रदेशमा मुख्यमन्त्री छन्, डोरमणि पौडेल । उनी पनि ओली निकट नेता हुन् । राष्ट्रपति भण्डारीको उनलाई पनि उत्तिकै आर्शीवाद देखिन्छ । उनले पनि तत्कालिन एमालेभित्रको प्रदेश संसदीय दलमा नेकपाको अहिले प्रदेश इन्चार्ज समेत रहेकी पूरानी नेतृ तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई पराजित गरेर मुख्यमन्त्री बनेका हुन् । अहिले अधिकाशंको नेतृ शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव छ । तर त्यहाँ राजेन्द्र पाण्डे, पशुपति चौलागाई र मुख्यमन्त्री नै फेरिदा माओवादी पृष्ठभूमिका अहिलेको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल पनि मुख्यमन्त्रीको दाबेदारमा छन् ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ छन् । उनको ठाँउमा भने कुनै पनि नेताले मुख्यमन्त्रीमा दाबी गरिसकेका पनि छैनन् । र उनले छोड्ने कुनै संकेत देखाएका पनि छैनन् । ओली निकट स्थायी समिति सदस्य समेत रहेका पृथ्वीसुब्बा गुरुङ मात्र नेकपाका यस्ता एक जना मुख्यमन्त्री देखिएका छन्, जो अहिलेसम्म सुरक्षित नै छन भनेर मान्न सकिने अवस्था देखा परेको छ । उनी नेकपाको प्रदेश इन्चार्ज पनि छन् । उनको विकल्प नै पार्टीले खोजेको अवस्थामा किरण गुरुड मुख्यमन्त्रीका दाबेदार हुन सक्ने देखिएका छन् । प्रदेश ५ मा पनि ओलीका अति विश्वासपात्र स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्री छन् ।
तर उनको भूमिका ओलीलाई प्रदेशमा भन्दा केन्द्रमा खट्किरहेको छ । नेकपाको विवादमा ओलीका असली सारथी उनै पोखरेल देखिएका थिए । आसन्न महाधिवशेनमा पनि पोखरेललाई ओलीले महासचिवका रुपमा अगाडी बढाउन चाहिरहेका छन् । कार्यदल सदस्यकै रुपमा उनले भूमिका खेलेका थिए । विवाद मिलाउन उनले यो बीचमा आफु मुख्यमन्त्री छोड्न समेत तयार रहेको बताएका थिए ।
प्रदेश ५ का मुख्यमन्त्री ओली पक्षले छोड्न नचाहेपनि मुख्यमन्त्री रहेका पोखरेलको भूमिका भने प्रदेशमा भन्दा वढी केन्द्रमा ओली पक्षले महसुस गर्न थालेकोले उनलाई मुख्यमन्त्रीबाट झिकेर केन्द्रीय राजनीतिमा तान्ने प्रयासमा ओली पक्ष देखिएको छ । यसो गर्दा उनको स्थानमा तत्कालिन एमालेभित्रबाट माधव नेपाल पक्षका वैजनाथ चौधरी र माओवादी पक्षका हालका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनाम मुख्य दाबेदारका रुपमा देखा परेका छन् ।
कर्णाली प्रदेशमा माओवादी पृष्ठभूमिका पूर्व जनसेनाका कमाण्डर महेन्द्र बहादुर शाही मुख्यमन्त्री छन् । त्यहाँ पूर्व एमाले पृष्ठभूमिका यमलाल कँडेल मुख्य दाबेदार देखिएका छन् । अहिले शाहीकै क्याबिनेटमा रहेका एमाले पृष्ठभूमिका अर्थमन्त्री प्रकाश ज्वाला र माओवादी पृष्ठभूमिका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी पनि प्रवल दाबेदार छन् । त्यहाँको सरकारप्रति पनि उत्तिकै असन्तुष्टि देखिएको छ ।
सुदुरपश्चिममा त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । उनी माओवादी पृष्ठभूमिका नेता हुन् । त्यहाँ पनि सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो देखिएको छ । लेखराज भट्टको जोडबलमा उनी माओवादी पृष्ठभूमिबाट मुख्यमन्त्री बनेका हुन् । भट्ट स्यवं अहिले ओली क्याम्पमा पुगेकाले उनको सिफारिसका व्यक्तिलाई मुख्यमन्त्री दोहोराईरहन पूर्व माओवादी धारका नेताहरुले रुचाईरहेका छैनन् । त्यहाँ भीम रावल निकटका अहिलेका अर्थमन्त्री प्रकाश शाह र माओवादी पृष्ठ भूमिका वीरमान चौधरी पनि मुख्यमन्त्रीका आकांक्षी छन् ।
के हुन सक्छ अवस्था ?
नेकपाले नेतृत्व गर्दै आएको ६ वटा प्रदेश सरकार हेरफेरको प्रसंग आउँदा स्वभाविक रुपमा मुख्यमन्त्री सहित सेट नै परिवर्तनको बहस नेकपाभित्र देखा पर्ने भएको छ । त्यसो हुँदा नेकपाले मुख्य तीन नेता ओली, प्रचण्ड र माधव नेपाल समुहका बीचमा भागवण्डा नै लगाउने गरी हेरफेर हुने देखिन्छ । यस्तो अवस्थामा प्रचण्ड समुह अर्थात पूर्व माओवादीले ६ मध्ये जुनसुकै प्रदेशको भएपनि दुई वटा प्रदेश सरकारको नेतृत्व पाउने छ ।
बाँकी ४ मध्ये ओली र नेपाल पक्षले दुई दुई प्रदेश या ओलीले ३ र नेपाल पक्षले एउटा प्रदेशको मुख्यमन्त्री पाउन सक्ने सम्भावना देखिएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन पनि नेपाल पक्षलाई अब ओली पक्षले भाग नलगाई नहुने अवस्था निम्तेको छ । त्यस अर्थमा के कसरी नेताहरुले भागवण्डा लगाउलान् यो नेकपाभित्रको मुख्य चासोको विषय वनेको छ । कतिपय नेताहरुले वाग्मती प्रदेशका मुख्यमन्त्री भने फेरिने भित्रै पर्ने बताउन थालेका छन् । तर त्यहाँ अष्टलक्ष्मी शाक्यले अहिले मुख्यमन्त्री आफु नबन्ने बताउन थालेकी छिन् ।
त्यसो हुदाँ माधव नेपाल पक्षलाई ओलीले यो प्रदेश छोड्न चाहेमा राजेन्द्र पाण्डे, पशुपति चौलागाई दाबेदारका रुपमा देखा पर्नेछन् । तर दुवैले एकको अस्तित्व अर्काेले स्वीकार गर्ने अवस्था देखिदैन । अहिलेका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकटेल यस्तो अवस्थामा राजेन्द्र हुनुभन्दा पशुपतितिर ढल्किदिन सक्छन् । यसले नेकपाभित्र यो प्रदेशको मुख्यमन्त्री कसले उछिटाउन सक्छ भनेर भन्न सकिने अवस्था छैन् ।
सुदुरपश्चिममा माओवादीले मुख्यमन्त्री छोडेर यो प्रदेशको दाबी पनि गर्न सक्छ । त्यसो गर्दा जम्मरकटेल मुख्यमन्त्री आफैं बन्न पनि सक्छन् । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले सम्भवतः छोड्ने सूचिमै छैन् । नेपाल पक्षलाई त्यहाँ मुख्यमन्त्री दिएर अन्य ३ वटा ओली पक्षले लिन पनि सक्छ । १ मा शेरधन राई, वाग्मतीमा शालिकराम जम्मरकटेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा बैजनाथ चौधरी, ६ मा पूर्व माओवादी तिरकै नेता र ७ मा एमाले तिरका नेता भागबण्डा हुने सम्भावना हुन सक्छ । नेताहरुले कसरी भागवण्डा लगाउछन्, यसले नै मुख्यमन्त्रीहरुको भविश्य निर्धारण गर्नेछ ।
प्रदेश २ मा पनि सरकार फेरिने
जसपाले नेतृत्व गरिरहेको सरकार पनि फेरिने भएको छ । जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भटटराई, अशोक राई लगायत नेताहरुले मुख्यमन्त्री सहित सरकारको सेट नै फेर्ने विषयमा अहिले छलफल थालेका छन् । अहिले त्यहाँ लालबहादुर राउत मुख्यमन्त्री छन् ।
उनको विकल्पमा जितेन्द्र सोनल, मनिष सुमन, अर्थमन्त्री रहेका विजय यादव, उपेन्द्र महतो सहितका एक दर्जन नेताहरु आकांक्षी देखिएका छन् । सुमन लगायतका नेताहरुले सरकार फेर्नुपर्ने भन्दै काठमाडौंमा आई नेताहरुसँग लबिङ गरिरहेका छन् । जसपाले त्यहाँ अब के गर्छ ? कुन नेतालाई अगाडी बढाउँछ त्यो पनि उत्तिकै चासोको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको राजनीतिमा नाटकीय मोड : प्रदेश प्रमुखले बिच बाटोमै यादवलाइ गराए नयाँ मुख्यमन्त्रीको शपथ
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिने
सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न अपराह्न ४ बजेसम्मको समय