लकडाउनको सदुपयोग गर्दै गैँडाकोटका मुस्कानले बनाए जीप

सूर्यप्रकाश कँडेल

आइतबार, ३२ साउन २०७७, १३ : १४
लकडाउनको सदुपयोग गर्दै गैँडाकोटका मुस्कानले बनाए जीप

photo : Surya Prakash Kandel

गैँडाकोट । नवलपरासी सुस्तापूर्व जिल्लाको गैँडाकोट नगरपालिका ९, थुम्सी निवासी २० वर्षीय मुस्कान सापकोटाले लकडाउनको सदुपयोग गर्दै सडकमै कुदाउन मिल्ने चारपाङ्ग्रे जीप बनाएका छन् । उनले बन्दाबन्दीको समयलाई उपयोग गर्दै मोटरसाइकलको इञ्जिन राखेर जीप तयार पारे । राजमार्गमा कुदाएर देखाए ।

गैँडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनमा कार्यरत उनी सिनियर कम्प्युटर ल्याब शिक्षक हुन् । विद्यालयमा आठ कक्षामा पढ्दा उनले विज्ञान प्रदर्शनीमा भाग लिँदै ब्याट्रीबाट चल्ने रिमोट कन्ट्रोल कार बनाए । त्यसअघि सात कक्षा पढ्दा नै उनले नमुना केबुलकार बनाइसकेका थिए ।

सानैदेखि सिर्जनात्मक अभ्यासमा लागेका मुस्कान गैँडाकोटको नमुना कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययनरत छात्र हुन् । ‘गाडी बनाउने सोच सानैदेखि थियो’ मुस्कान भन्छन्, ‘विद्यालय पढ्दा सानो गाडी बनाएँ । सानो बन्छ भने ठूलो किन बन्दैन भन्ने विचार आयो । फुर्सदको समयलाई सदुपयोग गरेर जीप बनाउने प्रयास गरेँ, सफल पनि भएँ ।’

जीप बनाउन उनले धेरैजसो सामान नारायणगढको एक कबाडी स्टोरबाट किने । जीपको आकार दिन चेचिस भने घर नजिकैको ग्रील उद्योगमा पुगे । त्यही उद्योग परिसरमा तीन महिनाको अथक मेहनतपछि जीप तयार भयो । सामान जुटाउनै दुई महिना लागेको र बाँकी एक महिनामा जोडजाड गरेर जीप तयार पारेको मुस्कान बताउँछन् । उनले तयार गरेको जीपमा ५ वटा फ्रन्ट गियर र एउटा ब्याक गियर छ । स्टेयरिङ, हेडलाइट, साइडलाइट पनि छन् ।

‘मैले बनाएको गाडीमा दुईपाङ्ग्रेको इञ्जिन छ । चारपाङ्ग्रे बनाउँदा अरु गाडीजस्तो शक्तिशाली त पक्कै हुँदैन’ आफूले बनाएको जीपको प्राविधिक पक्षबारे जानकारी दिँदै उनी भन्छन्, ‘पाँच जनासम्म बसेर आरामले कुदाउन मिल्छ । पेट्रोलबाट चल्ने यसले प्रतिलिटर २५ किलोमिटर माइलेज दिन्छ । अधिकतम गति प्रतिघण्टा ४५ किलोमिटरसम्म छ ।’

उनले अहिले बनाएको भन्दा बलियो र राम्रो क्षमताको गाडी बनाउने इच्छा समेत व्यक्त गरे । अहिले बनाएको गाडी सडकमा गुड्न पाउँछ कि पाउँदैन भन्ने अन्यौलमा छन् उनी । भन्छन्, ‘यातायात व्यवस्था विभागमा गएर गाडी दर्ता र प्याटेन्ट अधिकार दर्ता सम्बन्धी विषयमा बुझ्न बाँकी नै छ ।’ मुस्कानले बनाएको जीप सामान बोक्ने खालको स्वरुपमा छ । चालक सिट र त्यसको आडमा अर्को सिटमात्र छ । ती सिटभन्दा पछाडिको खण्डमा सामान राख्न मिल्ने गरी डिजाइन गरिएको छ ।

छत राख्न बाँकी जीप तयार गर्दासम्म तीन लाख ५० हजार रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । छत राख्ने र ब्याक गियरलाई सुधार गर्ने काम सम्पन्न गर्दा निर्माण खर्च चार लाख रुपैयाँ पुग्ने उनी बताउँछन् । जीप निर्माणका लागि सहकारीबाट ऋण लिएर काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस