सम्भावित विपद् : क्षति रोक्न उच्च तयारी

रासस

शुक्रबार, ०२ साउन २०७७, २१ : ३४
सम्भावित विपद् : क्षति रोक्न उच्च तयारी

काठमाडौं । यही साउन ४ गते  साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ । 

सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा जुटेको छ । सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ । गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कसरी हुन्छ कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ । 

यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन् । यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै काम गरेको पहिलो हो । विगतमा यसरी समन्वय हुन सकेको थिएन । 

जिल्लाका सरोकारवाला निकायसँग समेत समन्वय गरी आवश्यक तयारीमा रहन भनिएको प्राधिकरणक प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । पोखरेलले सर्वसाधारणसँग अपिल गर्दै भन्नुभयो, “त्यस समयमा जोखिम क्षेत्र हेरेर सुरक्षित स्थानमा सर्न विनम्रतापूर्वक अनुरोध छ, सुरक्षित ठाउँ भए पाहुना लागेरै भए पनि जानुहोला ।” 

सोही विषयमा आज गृह मन्त्रालयमा चारवटै निकायले संयुक्त पत्रकार सम्मेलनमार्फत यही साउन ४ देखि ७ गतेसम्म उच्च सावधानीमा रहन सर्वसाधारणमा अनुरोध गरेको छ । विपद्को पूर्व तयारीस्वरुप यसवर्ष बिभिन्न जोखिम मानिएका १४ जिल्लामा २÷२ का दरले मोटरबोटसमेत पठाइसकिएको छ । आवश्यक यन्त्र उपकरण (डोजर लोडर, स्काभेटर) तयारी अबस्थामा राखिएका छन् । उद्धार तथा राहत सामग्रीलाई समेत ठाउँठाउँमा बन्दोबस्त गरिएको र कतै बाँध लगाउनु परे जालीसहितका सामग्री तयारी हालतमा राखिएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार बैद्य साउन ४ देखि भारतमा रहेको न्यून चापीय रेखा नेपाल नजिक आउने हुँदा भारी वर्षाको सम्भावना रहेको बताउनुहुन्छ । उहाँका अनुसार साउन ७ गते उक्त रेखा नेपालमाथि पर्नेछ । त्यो बेला ठाउँठाउँमा भारी वर्षा हुनेछ । साउन ८ गतेबाट विस्तारै दक्षिण जाने जनाइएको छ । 

प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषत भन्दा बढी अर्थात २३० प्रतिशत पानी परिसकेको छ । प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ । मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले यो पटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने विज्ञको भनाइ छ । 

भूगर्भविद् शिव बाँस्कोटा साउन ४ पछि भने पुरानो पहिरो सक्रिय हुने, भुकम्पले क्षति पु¥याएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुने बताउनुहुन्छ । उहाँका अनुसार मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकै पटक बगेर पहिराको रुप पनि लिन सक्नेछ । 

विगतमा गरिएको अध्ययनमा नेपालको जोखिम क्षेत्रमा नै घरहरु रहेको देखिन्छ । पछिल्लो पटक गएको पहिरो पनि जोखिम क्षेत्र भनेर पहिचान भएको स्थान मै खसेकोे बाँसकोटाले बताउनुभयो । “मुल तथा तल्लो क्षेत्रमा पानी एक्कासी बढ्यो, धमिलो आउन थाल्यो, मुल सुक्यो, भने पनि जमिन चलायमान रहेछ भनेर बुझ्नुपर्छ र तत्कालै सुरक्षित स्थानमा सर्नुपर्छ”, उहाँले सावधानी अपनाउन आग्रह गर्दै भन्नुभयो । 

सिँचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर विष्णुदेव यादवले कुनै ठाउँमा नदीले क्षति पु¥यायो भने तत्काल निर्माण गर्न सक्नेगरी जाली, बाँस, बोरा, डोरी सबैको आवश्यक व्यवस्थापन गरिएको जानकारी दिनुभयो । 

भारतको बाँधले डुबान 
तराईको सीमावर्ती क्षेत्रमा भने भारतले बनाएको सडकसहितका बाँधले कतिपयस्थान डुबानमा पार्ने गरेको छ । कतिपय स्थानमा भारतले सम्झौताअनुसारको तटबन्धसमेत बनाएको छैन । कोभिड–१९ का कारण नेपाल भारतको संयुक्त समितिको बैठक बस्न नसकेकाले केही निर्णय गर्न सकिएको छैन । नेपालतर्फ भने एक हजार २६ किलोमिटर  तटबन्ध बनिसकेकाले धेरैजसो स्थानमा यसपटक डुबान नहुने यादवले बताउनुभयो । तर सावधानी अपनाउन भने उहाँले स्थानीयलाई अनुरोध गर्नुभएको छ । 

मौसम विज्ञान विभागका अनुसार साउन ४ गतेपछि मुख्यगरी प्रदेश नं १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदूपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक÷दुई स्थानमा अति भारी वर्षा हुनेछ । 

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, नारायणी, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।   

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस