निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४० हजार जरिवाना

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १४ : ५४
निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४० हजार जरिवाना

काठमाडौँ । पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको भन्दै मल्टि एड्भेञ्चर प्रालिलाई अध्यागमन विभागले कारबाही गरेको छ। विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उक्त कम्पनीलाई अध्यागमन ऐन, २०४९ बमोजिम पहिलो पटकका लागि ४० हजार रुपैयाँ जरिवाना गरिएको हो।

कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा जर्मनीका नागरिक मार्टिन श्रमनलाई लिएर गएको थियो। नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था छ। अध्यागमन नियमावली, २०५१ बमोजिम यस्तो क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशी नागरिकले मान्यताप्राप्त एजेन्सीमार्फत विभागमा निवेदन दिनुपर्ने हुन्छ।

उक्त कानुनी प्रावधान विपरीत कम्पनीले २५ अक्टोबरदेखि १० दिनका लागि अनुमति लिएको भए पनि टोली एक दिन अगावै कञ्चनजंघा क्षेत्रमा पुगेको पाइएको विभागले जनाएको छ। सो क्रममा कम्पनीका तर्फबाट ट्रेकिङ गाइड दाईला शेर्पा विदेशी नागरिकसहित पदयात्रामा गएका थिए। शेर्पाविरुद्ध थप कारबाहीका लागि पर्यटन बोर्डमा पत्राचार गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

नेपाल सरकारले सुरक्षा र सीमा संवेदनशीलताको कारण देशका १५ जिल्लाभित्रका केही स्थानहरू माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार, चुञ्चेतलगायतका क्षेत्रहरूलाई निषेधित क्षेत्रका रूपमा तोकेको छ।

प्रतिक्रिया दिनुहोस