सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई भेट्नुको रहस्य

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १६ : ५७
सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई भेट्नुको रहस्य

काठमाडौँ । सत्तारुढ दल नेकपामा यतिबेला स्थायी कमिटीको बैठकमा उठेका विषयलाई  लिएर खुब रस्साकस्सी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै बेला राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् भने कुनैबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने शीर्ष नेताहरुले पनि भेटवार्तालाई तीव्र पारेका छन् । यतिबेला नेताहरुको छलफल र भेटवार्तालाई विभिन्न तरिकाले अर्थाइएको छ । यसबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको बताएका छन् । उनले यसलाई सामान्य रुपमा लिनसमेत आग्रह गरेका छन् । भेटमा आफूले सभापति देउवालाई समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नाताले जानकारी गराएको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले समेत नेता देउवालाई भेटेका थिए । 

‘प्रधानमन्त्रीजीले प्रतिपक्षी दलका नेता शेरबहादुरजीसँग कुराकानी गर्ने भनेकाले उहाँकै अनुमतिमा म भेट्न गएको थिएँ,’ नेम्वाङले थपे, ‘ठोस विषय त्यस्तो केही होइन। विभिन्न विषयमा जानकारी गराउनुपर्ने थियो, भेटेरै जानकारी गराएको हुँ।’ उनका अनुसार जिम्मेवार प्रतिपक्षका नाताले जिम्मेवार भूमिका कांग्रेसले खेल्ने नै छ। खेलोस् भन्ने मेरो आग्रह छ । 

उक्त भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका एकपछि अर्का विधेयकहरू लगायतमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा ओलीले नेकपा फुटे मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव देउवासमक्ष राखेको भन्दै अहिले नेकपामा तरंग आएको छ।

प्रतिक्रिया दिनुहोस